थारु आयोगद्वारा लोक गीत संकलनका लागि संकलनकर्ताको आह्वान, उचित पारिश्रमिक दिइने

थारु आयोगले मातृभाषाका लोक गीतहरु संकलन गर्ने भएको छ। आयोगले त्यसका लागि प्रस्ताव पेस गर्न संकलनकर्तालाई आह्वान गरेको छ। गत ५ असोजमा सूचना प्रकाशन गर्दै हालसम्म प्रकाशित नभएका थारु मातृभाषाका लोक गीतहरु प्रकाशन गर्ने आयोगले जनाएको छ।

‘थारु समुदायको पुराना परम्परागत लोक साहित्यको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले प्रथम चरणमा यस आयोगले समुदायमा रहेको लोक गीतहरु संकलन गरी प्रकाशन गर्न लागेको हुँदा इच्छुक संकलनकर्ताको संक्षिप्त सूची तयार गर्ने प्रयोजनार्थ देहायको शर्त पालना गर्ने गरी तोकिएको समयभित्र प्रस्ताव पठाउन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ।

आयोगका सूचना अधिकारी जागुराम चौधरीका अनुसार संकलनकर्तालाई उचित पारिश्रमिकको समेत व्यवस्था गरिएको छ। तर कति पारिश्रमिक भन्ने नखुलाएको उनले बताए। ‘आयोगले लोक गीत संकलन गरेर बुझाउनेलाई उचित पारिश्रमिक पनि दिनेछ। त्यो पारिश्रमिक भने संकलनकर्ताले बुझाएको गीतहरुमा निर्भर रहनेछ,’ उनले थारुवानसँग भने।

जागुरामका अनुसार संकलनकर्ताले केही शर्तहरु भने पालना गर्नुपर्नेछ। उनका अनुसार नेपालका पूर्वदेखि पश्चिमसम्मका थारु मातृभाषाका अप्रकाशित लोक गीतहरु (गुरबाबक जलमौती, बर्कीमार, जितिया, सखिया/अष्टिम्की र विवाहमा गाईने लोक गीतहरु बाहेक) संकलनका लागि संकलनकर्ताहरुको संक्षिप्त सूची तयार गरिनेछ।

इच्छुक संकलनकर्ताहरुले लेखनको विषय र सन्दर्भ, विगतमा लेखनसम्बन्धी अनुभवसहितको प्रस्ताव यसैसाथ संलग्न ढाँचामा भरी मिति २०७७ कात्तिक मसान्तभित्र पेस गर्नुपर्नेछ। त्यस्तै संकलनकर्ताहरुको नामावलीसहितको संक्षिप्त सूची आयोगबाट प्रकाशन गरिने र प्राप्त प्रस्ताव स्वीकृत भएपछि सो को जानकारी सम्बन्धित व्यक्तिलाई दिइने सूचना अधिकारी जागुरामले बताए।

संक्षिप्त सूचीमा परेका संकलनकर्ताहरुले स्वीकृत प्रस्ताव बमोजिम लोक गीतहरु संकलन गरी मिति २०७७ फागुन मसान्तभित्र पठाउनु पर्ने र प्रस्ताव पठाउँदा आयोगको इमेल ठेगानामा पठाउनुपर्ने उनले बताए।

लोक गीत संकलन तथा लेखनको भाषा थारु मातृभाषामा हुनुपर्ने उनले बताए। संकलित लोक गीतको स्रोत र सन्दर्भ खुलाउनुपर्ने उनले बताए।

प्रस्ताव पठाउनुपर्ने ढाँचा यस्तो छ: 




Leave a Reply

Your email address will not be published. Required fields are marked *