अर्को विजय कुमारको उदय

मोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी आमापट्टिका १ दाजु र २ दिदी हुन् ।

बालमन्दिर प्रावि ग्रामथानबाट शिक्षा सुरु गरेका विश्वासले महेन्द्र माविबाट निम्न माध्यामिक तहको शिक्षा हासिल गरे । सरस्वती उच्च मावि दुहवी सुनसरीबाट एसएलसी गरेको विश्वासले रौटहटबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेका छन् । सरस्वती उच्च मावि दुहवीमा माध्यामिक तहको अध्ययनकै क्रममा राजनीति सुरु गरेका विश्वास माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यालय इकाई सदस्य भएका थिए ।

२०५७ सालमा उनी महेन्द्र मोरङ कलेजमा भर्ना भए । २०५७ सालको स्ववियु निर्वाचनमा सहभागी भएका विश्वास २०५७ सालकै अन्त्यतिर तत्कालीन विद्रोही माओवादीको पूर्णकालीन सदस्य भएर राजनीतिलाई अगाडि बढाएका थिए । सुरुमा माओवादीको स्वायप मेम्बर बनेका विश्वास एरिया सदस्य भएर पार्टीको संगठन विभागमा काम गरे ।

२०५८ सालमा माओवादीको मोरङ जिल्ला कमिटी सदस्यसमेत बनेका विश्वास संकटकाल लागेपछि भूमिगत बनेका थिए । उनले मोरङ र सुनसरीमै रहेर भूमिगतकालमा काम गरे । भूमिगत कालमा निकै कठिनाइ भोगेको उनी बताउँछन् । सुरक्षाकर्मीहरूबाट बचेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने र युुद्धका सामाग्रीहरू ओसारपसार गर्ने जिम्मेवारी भएकाले यस्ता काम गर्दा विशेष सजगता अपनाउने गरेको उनको अनुुभव छ ।

प्रदेश सदस्य निर्वाचित भएपछि आफूले घोषणापत्रमा उल्लेख गरेका एजेण्डाहरू कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता छ । उनले विराटनगर १९ स्थित वैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रुपमा विकास गर्ने बताए । यस्तै २० वर्षदेखि ट्र्याक खोल्नेकाम समेत नभएकाले चक्रपथलाई सम्पन्न गर्ने उनको एजेन्डा छ । पुुष्पलाल चोक-विराटचोक सडक खण्डलाई चार लेनको बनाउने, ग्रामथान-बुढीगंगा जोड्ने पुल, रंगेलीको लोहन्द्रामा, कटहरीको जुुडीमा पक्कीपुल बनाउने योजना उनको छ ।

रोजगार र समृद्धिको आधार कृषिको विकास भएकाले कृषि क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने आफ्नो एजेण्डा रहेको विश्वासले बताए । आफ्नो क्षेत्रमा कृषि कलेज सञ्चालनका लागि तयारीसमेत थालिसकेको उनले जानकारी दिए । कृषि कलेजका लागि आबश्यक १५ विघा जग्गा खोज्नेकाम सुरु गरिरहेको उनले बताए ।

जग्गा प्राप्ति भएपछि कृषि कलेजको पूर्वाधार निर्माणका लागि दाता खोजिसकेको उनले बताए । ‘दाताबाट जग्गा उपलब्ध भएपछि पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ,’ उनले भने । जहिंतहिं प्लटिङ गरी खेतीयोग्य जग्गा मास्ने कामलाई निरुत्साहित गर्ने योजना पनि उनले बनाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूमा यसै शैक्षिक सत्रदेखि क्रमिकरुपमा अंग्रेजी भाषाबाट पठनपाठनको व्यवस्था गर्न आवश्यक तयारी पूरा गरिसकिएको छ । वनिगामामा स्नातकसम्मको कलेज र एउटा सुविधा सम्पन्न अस्पताल पनि निर्माण गर्ने एजेण्डा उनको छ ।

विभिन्न जातजाति, धर्म, सम्प्रदायको समिश्रण रहेको क्षेत्र भएकाले सबै जातजातिको जातीय संस्कृति झल्कने संग्राहलयको निर्माण गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए । प्रदेश नम्बर १ को विकासको आधारका रुपमा रहेको जोगवनी किमाथांका सडक निर्माणका लागि प्रदेश तथा केन्द्रमा निरन्तर दबाब सृजना गर्ने र यो सडक ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने एजेण्डा पनि छ । भारत र चीन जोड्ने यो सडक निर्माण भए विराटनगरलगायत प्रदेश नम्बर १ ले विकासमा महत्वपूर्ण फड्को मार्ने उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *