इतिहासकै निरीह थारु कल्याणकारिणी सभा

किशोर चौधरी सरिखाँ।
थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास बोकेको संस्था र त्यसमा पनि कुनै एउटा समुदायको मुद्दा बोकेर अगाडि बढेको छ । उसले ७० वर्षको यो दौरानमा थारु समुदायको थुप्रै अधिकारहरु स्थापित गर्न सक्नुपथ्र्यो, तर अहँ, हिजो जुन समस्याबाट प्रताडित थिए थारुहरु, आज पनि त्यही समस्याबाट पीडित छन् ।

थारु समुदायका लागि यो संस्थाले केही गरेन भन्दा म लगत हुन सक्छु । थाकसले थुप्रै आन्दोलनको अगुवाइ ग¥यो, सरकारले गरेको दमन र अत्याचारविरुद्ध लड्यो । थुप्रै नेताहरु पनि जन्मायो । हो, उसको दायित्व थियो गर्यो । तर जति गर्न सक्नुपथ्र्यो त्यसमा शंका छैन उसले गर्न सकेको छैन । यी सब लेखिरहँदा धेरैको नजरमा म थारु कल्याणकारिणी सभाको विरोधीको रुपमा चिनिन सक्छु । तर, सत्यलाई लुकाएर लुकिँदैन । थारु समुदायको एक युवा भएकै कारणले गलत दिशातर्फ उन्मुख थारु समुदायको नेतृत्व गर्ने संस्थालाई सही बाटो दिन सकुला नसकुला तर, गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हैसियत भने अवश्य राख्छु । मेरो लेखले सही बाटो देखाउने नै मेरो उद्देश्य हो ।
पछिल्लो समय थारु कल्याणकारिणी सभामाका नेतृत्वकर्ताहरु पदलाई ओगटेर बस्नु सिवाय केही गर्न सकेको छैन । नेतृत्वमा पुग्न अघि राजनीतिक दलका नेताजस्तै भए नभएको गफ लगाएर सपना बाँड्दै नेतृत्व पंक्तिमा पुगेका छन् । तछाडमछाड गरेर नेतृत्वमा पुगेका उनीहरु ओरालो लागेको मृगजस्तो बनेको इतिहास हाम्रोसामु छ । थारु कल्याणकारिणी सभा यसको गतिलो उदाहरण बनेको छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको नेतृत्व पनि अहिले यसरी झोक्राएको छ कि अब फेरि उठ्नेमा थुप्रै आशंकाहरु उब्जिएका छन् । थारु समुदायमाथि जस्तोसुकै दमन किन नहोस्, अन्याय, अत्याचार किन नहोस्, सहनुबाहेक केही गर्न सकेको छैन । वि.सं. २०७२ साल भदौ ७ गते आफ्नो हक र अधिकारका लागि लड्दै गर्दा टीकापुर घट्ना घटेको सबैमा जगजाहेर नै छ । टीकापुर घटनालाई कतिले राजनीतिक घटना भने कतिले अपराधिक घटनाको संज्ञा दिए, तर यथार्थ आजसम्म कसैले बाहिर ल्याउन सकेको छैन । सबैको नजरमा परे त सात प्रहरी र एक नाबालकको मृत्यु, त्योभन्दा बढी न कसैले देखे, न देखाउन नै सके । राज्यले टीकापुर घटनाको आरोपित भन्दै सांसद रेशम चौधरी, लक्ष्मण थारु, लाहुराम चौधरी, करण चौधरीलगायत २६ जनालाई तीन वर्षदेखि पुर्पक्षका लागि थुनामा राखेका छन् । तीन वर्षपछि बल्ल बल्ल पेशी चढ्यो । के थारु भएकै कारण तीन वर्षसम्म पेशी कुर्नु परेको ? यो विषयमा बोल्दिने कसले ?

कर्फ्यु लागेकै बेलामा दर्जनौं थारुहरुको घर जले, कति चेलीबेटी बलात्कृत भए, कतिलाई ढाड खुस्किने गरी कुटपिट गरियो, तर त्यो विषयमा बोल्दिने को ? यो विषयमा बोलिदिने व्यक्ति न हिजो थियो, म आज छ । टीकापुर घटनामा मर्नेहरु मरेर गए, तर जो टीकापुर घटनामा पीडित छन्, ज्यूँदो लास बनेर जीवन विताइरहेका छन् । कतिको आमाबुबा जेलमै भएका कारण कलिला भाइबहिनीहरु पढ्नबाट वञ्चित भए । कतिलाई हातमुख जोर्न पनि हम्मे हम्मे परेको छ, कोहीको नाबालक छोरा कैदी जीवन विताइरहेका छन् । कतिको घरबार लिलामीको अन्तिम चरणमा पुगेको छ । हो, यस्तै पीडाबाट प्रताडित छन् उनीहरु, तर सुनिदिने कसले ?

वीरगञ्ज चिनी मिल सञ्चालनका लागि तात्कालीन राजा महेन्द्र शाहले वि.स. २०२१–२०२४ सम्म थारुहरुको ८ सय ३३ विघा जग्गा अधिग्रहण गरेको थियो । वि.सं. २०४६ सालको बहुदलपछि त्यस क्षेत्रमा अरु समुदायका मानिसहरुको ब्यापक बसाइसराइ भयो । अहिले ती ठाउँहरुमा अर्थात् सिमरा उपमहानगरपालीकाको वडा ४, १३, १४ र १५ मा झन्डै दुई हजार बढी घरधुरी अन्य समुदायले अतिक्रमण गरी बिल्डिङ बनाएर बसेका छन् । जग्गा प्राप्ती ऐन २०३४ को दफा ३४ को उपदफा १,२,३ र ४ ले जुन प्रायोजनका निम्ति जग्गा लिइएको हो, सो कार्य नगरिए जग्गाधनीलाई जग्गा फिर्ता गर्नुपर्ने प्रावधान छ । सरकारले चिनी मिल चलाउन त सकेको छैन, हालसम्म त्यो जग्गा थारुहरुलाई फिर्ता गरेको छैन । बरु सेजका निम्ति थारुहरुको जग्गा छुट्याइयो ।

नेपालको कानुन दैबले जानुन ठ्याक्कै त्यस्तै चरितार्थ भएको छ यहाँ । अनि ती निमुखा जनताहरुको लागि कुन निकायले बोलिदिने ? जनसंख्याको हिसाबले नेपालमा थारुहरु २२ लाखभन्दा बढी छन् । यो कूल जनसंख्याको झन्डै ७ प्रतिशत हो । तर त्यही थारुलाई निजामतिमा ५ प्रतिशत आरक्षण, त्यो पनि एकपटकको लागि भनेर छुट्याएको छ । थारु आयोगमा नियुक्ति हुने थारुले अन्य कुनै पनि राजनीतिक नियुक्ति नपाइने व्यवस्था गरिएको छ । यसको विषयमा बोलिदिने कसले ? थारु समुदायभित्र यी र यस्ता समस्याहरु अनगीन्ती छन् ।

थारु समुदायबाटै अहिले प्रतिनिधि सभामा प्रत्यक्ष र सामानुपातिक गरी १७ जना सांसदहरु छन् । तर कोही पनि थारु समुदायभित्र भएका दमनलाई उजागर गर्न सकेको छैन । चाहे संसदभित्र होस् या संसदबाहिर यी घटनाको विषयमा सबै सधैं मौन छन् । सबै पार्टीको बचाउ र नेताका एस म्यान भएरै रमाएका छन् । थारु समुदायका लागि काम गर्ने भनेर थुप्रै विकासे संघ संस्थाहरु च्याउसरी खुलेका छन् । तर थारु समुदायको समस्यालाई भित्रि तहसम्म पुगेर कसैले बुझ्न सकेको छैन ।

थारु कल्याणकारिणी सभा थारु समुदायको दशकौंदेखि आशा र भरोसाको केन्द्र हो । थारु समुदायको हरेक असहज परिस्थितिमा हात समातेर अगाडि बढाउने संस्थाको रुपमा चिन्छौं थाकसलाई । थाकसलाई एउटा किनाराबाट अर्को किनारासम्म पुर्याइदिने डुङ्गाको रुपमा लिएको छ थारु समुदायले । तर, अहिले आफैं शिथिल र स्खलित बनेको छ यस संस्थाका पदाधिकारीहरु ।

टीकापुर घटनापछि थारु अन्दोलन शून्यजस्तै रह्यो । टीकापुर घटनाको नेतृत्व गर्नेहरु कोही जेल परे, कोही भूमिगत भए । भूमिगत जीवन विताउनेहरुमध्ये थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी पनि एक हुन् । हो, धनिराम भूमिगत भएसँगै थारु कल्याणकारिणी सभा नेतृत्वविहीन मात्रै भएन, अभिभावकविहीन नै भयो । टीकापुर घटनापछि उनी भूमिगत हुनपथ्र्यो, पर्थेन, यसले थारु समुदायलाई फाइदा भयो, भएन, समिक्षाको विषय बनेको छ । तर, अध्यक्ष भूमिगत हुँदैमा कामै गर्न नसक्ने अवस्थाचाहिँ पक्कै होइन । उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, सदस्यहरु, जिल्ला शाखाहरु र दर्जनौं भातृ संगठनहरु जिवितै थिए । तर उनीहरु पनि पद ओगट्नेबाहेक केही काम गरेनन् । चर्काचर्का भाषण र बनावटी कुरा गर्नबाहेक उनीहरुले केही गर्न सकेनन् । लाग्छ, उनीहरु माटाका मुर्तीहरु हुन् ।

अहिले थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनको सर्गर्मी बढेको छ । नेतृत्वको लागि धमाधम उम्मेदवारी घोषणा पनि भइरहेका छन् । तर आजको आवश्यकता पद ओगटेर बस्नेको होइन । थारु समुदायमाथि जति अन्याय, अत्याचार र विभेद भए पनि आँखामा छारो र कानमा तेल हालेर बस्नेहरुको आवश्यकता नभएर थारु समुदायलाई बुझ्न सक्ने सक्षम र सक्रिय नेतृत्वको आवश्यकता छ । अन्याय, अत्याचार र विभेदविरुद्ध विष्फोट हुनसक्ने नेतृत्वको खाँचो छ । न कि माटाका मुर्तीहरु ।

अन्त्यमा, यो कसैमाथि पूर्वाग्रही भएर कसैको व्यक्तित्वमाथिको प्रहार होइन । यो सिङ्गो थारु कल्याणकारिणी सभामा देखिएको बेथितिमाथिको प्रहार हो । जबसम्म बेथिति रहन्छ, तबसम्म निरन्तर प्रहार भइरहन्छ ।

लेखक थारु पत्रकार संघ, नेपालका महासचिव हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *