मजदुरीको पैसा बुझ्‍न नपाउँदै अस्ताए सनी खुना थारु

कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरका विरबहादुर खुना, नगरपालिकामा कुचिकारको काम गर्छन्। दैनिक बिहान ७ बजे नगरपालिका क्षेत्रको सरसफाइका लागि निस्किने विरवहादुर शुक्रबार पनि सवेरै उठेर छोराछोरीलाई बिउझाउँदै आफू काममा गए । उनी घरबाट जाने बेला छोरा सनी खुना दाँत बाझ्दै थिए ।

विरवहादुरले छोरा सनीलाई आफू काम गर्न गएको जानकारी गराए । विरवहादुर सधै जस्तै शुक्रबार पनि कामबाट दिउँसो १२ बजेपछि मात्र घर फर्किए । उनले घरमा पुग्दा सनी नजिकैकको खोलामा दाई उमेशसंग (ठुलाबुबाको छोरा) माछा मार्न गएका थिए । उनीहरु दुवैले मारेको माछा उमेशकै घर बनाएर खाए ।

२ बजेतीर घर फर्किएका सनीले बुबासँग भने, ‘बुबा तिहार (रक्षा बन्धन) पनि आइसक्यो, दिदीबहिनीहरुले हातमा रक्षा बाध्ने बेला के दिने ? म भासी साहुकोमा मजदुरी गरेको पैसा लिएर आउँछु है ।’ यति भन्दै सनी ३ बजेतीर घरबाट निस्कियो, उनका बुबा विरबहादुरले भने ।

सनी फेरि ठुलाबुबाको छोरा उमेशसँगै भीमदत्त नगरपालिकाकै भाँसीमा एक व्यक्तिको घर निर्माणका क्रममा १३ दिन मजदुरी गरेको पैसा लिन गए । उनका बुबा विरबहादुरका अनुसार साहुले आज पैसा नभएको र दोस्रो दिन आउन भनेपछि दुवै फर्किएछन् । भाँसीबाट ट्राफिक चोक हुँदै फर्किएका सनी र उमेश १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणलाई लिएर भइरहेको प्रर्दशनमा मिसिन पुगे ।

भीड उग्र बनेपछि एकाएक प्रहरीले चलाएको गोली न्यायीक आन्दोलनमा सरिक हुन पुगेका सनीको छातीमा लाग्यो । सयौँ प्रर्दशनकारीको भीडमा ढलेका शनीलाई प्रर्दशनमा सहभागीहरुले तत्काल महाकाली अञ्चल अस्पताल पुर्याएपनि दैवले उनलाई कहिले नफर्किने गरी लगेको कुरा अस्पतालले पुष्टि गर्यो ।

मजदुरी गरेको पैसा ल्याएर आउँछु भनी गएका छोरा सदाका लागि संसार त्यागेर गएपछि विरबहादुरको परिवारमा त रुवावासी चलेकै छ अहिले कञ्चनपुर पनि शोकमा डुबेको छ । दैवले छोरालाई कलिलै उमेर लगेपछि उनका बुबा, दुई दिदी, एक भाई र कान्छी (सौतेली ) आमा अहिले बेला–बेला भाववीहल हुने गरेका छन् ।

चार कक्षासम्म भगतपुरकै मदन स्मृति स्कुलमा पढेका सनीले सानै उमेरदेखि मजदुरी गर्दै घर खर्च जुटाउन थालिसकेका थिए । उनका बुबा विरवहादुरलाई पनि छोरा बुढेसकालको साहारा बन्छ होला भन्ने आशा पलाइसकेको थियो । तर मजदुरी गरी आर्जन गरेको पैशा रक्षा बन्धनमा दिदी बहिनालाई दक्षिणा दिने सनीको इच्छा अब कहिल्यै पूरा हुनेछैन् भने उनका परिवरका सदस्यले उनीसंग गरेको आशा पनि पूरा हुने छैन ।

जनक विष्ट/दिनेशखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *