थारु अगुवाको निष्कर्ष: ‘पहाडी जनजीवन बेहाल छ, प्रदेश ७ को राजधानी पहाडमा सारियोस्’

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो । तसर्थ प्रदेश न. ७ को राजधानी पहाडमा र त्यसमा पनि पहिलेदेखि पूर्बाधार रहेको दिपायलमा हुनुपर्दछ भन्नु सबैको कर्तव्य हो, बैठकको निष्कर्ष रह्यो,’ थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्।

मंगलबार प्रदेश सभाका सांसद एवं परामर्श समितिका सदस्य मालामती रानाले चलाएको थारु अगुवाहरुसँगको छलफलमा थारुहरुले यस्तो निष्कर्ष निकालेका हुन्। थारु अगुवाहरुले पहाडी जनजीवन झनै कस्टकर भएको हुँदा राज्य संयन्त्र उनीहरुको पहुँचमा पुर्याउन जरुरी रहेको बताएका थिए। ‘पहाडी जनजीवन सबैले देखेका छौं, त्यहाँका जनता आफ्नो गाउँपालिका पुग्न पनि २, ३ दिन पैदल हिंड्ने गर्छन्, सुत्केरी हुँदा धनगढी नेपालगञ्ज जाँदाजाँदै ज्यान गुमाउँछन्, फेरि पनि हाम्रा सुदूरपश्चिमेली नेताहरुको ध्यान भनेको महेन्द्रनगर, धनगढीमा राजधानी बनाउने, बिश्व बिद्यालय खोल्ने, मेडिकल कलेज खोल्ने, उद्योग धन्दा कलकारखाना खोल्ने चाहना हुन्छ, यो भनेको नितान्त ब्यक्तिगत स्वार्थ हो । सुदूरपश्चिमका नेताहरु चुनाव पहाडबाट लड्छन्, तर राजधानी, मन्त्रालय, गगनचुम्बी महल तराईमा बनाउँछन् । आर्थिक अवस्था उकास्ने कुरा गर्छन्, तर अनाज, फलफूल, तरकारी, सुकुमेल, जडीबुटी उत्पादन हुने भूमिलाई बाँझो राख्ने नीति बनाउँछन् । कृषि ब्यबसायलाई सरकारले सुबिधा दिनुभन्दा कृषि ब्यवसायलाई पनि ब्यावसायिक कृषिको नाममा निजीकरण, ठेकदारीकरण गर्ने नीति बनाउँछन् । तसर्थ हामीले पहाडका उत्पीडित जनताका हकमा बोली दिनुपर्छ । उनीहरु आज नसम्झे भोली सम्झलान्,’ संयोजक चौधरी भन्छन्।

उनले के तराई, के पहाड, सबै ठाउँका जनता बराबर भएको बताउँदै शासकहरुका गलत मनोबृत्तिका कारण मात्रै जनताबीचमा फुट र बिभेद रहेको बताए। ‘हरेक सेवा सुबिधा हरेक ठाउँमा पुग्नुपर्छ । सबैखाले सेवा सुविधा कैलाली र कञ्चनपुरमा मात्रै सीमित हुनुहुँदैन, पहाडमा पनि हुनुपर्छ भन्ने रह्यो । त्यो कुरा चाँडो सम्भव तब हुन्छ, जब राजधानी पहाडमा हुन्छ । राजधानी पहाडमा भयो भने मन्त्रीहरु त्यहाँ बस्नेछन्, उनीहरुका औषधि उपचारका लागि त्यहाँ राम्रा अस्पतालहरु खुल्नेछन्, त्यहाँका जनता पनि तराईका जनता झैं चाँडो बिकास पाउनेछन्, समयमै औषधि पाउनेछन्, सुत्केरीको ज्यान जोखिममा पर्नेछैन, गरिब जनता काम र माम पाउ्नेछन् भन्ने रह्यो । साँचो, सत्य कुरा बोलिदिने हाम्रो कर्तव्य हो, बाँकी दुई तिहाईको हतियारले के गर्ने हुन् ? उनीहरु जानून्,’ उनी भन्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *