राजा वीरेन्द्रको कपाल काट्ने नवलपरासीका भीमबहादुर थारू

बुनु थारु।काठमाडौं।
नवलपरासीको अमलटारीस्थित शेरगञ्जमा कपाल काट्ने ठाउँ खोज्दै जाँदा भेटियो, ‘भूपू सैनिक हेयर कटिङ सैलुन।’ सडक छेवैको सैलुन चलाइरहेका थिए भीमबहादुर मर्दनिया (थारू)।

भीमबहादुर आफ्नो सैलुनमा आउनेहरुलाई आफूले राजा वीरेन्द्रको कपाल काटेको प्रसंग सुनाइरहन्छन्।

थारु समुदायका उनी पहिले सैनिक सेवामा आबद्ध रहेछन् त्यसैले पसलको नाम पनि त्यसअनुसार जुराएका रहेछन्।

४३ वर्षीय भीमले सैनिक सेवामा २०४९ सालमा पोखराबाट नियुक्ति लिएका रहेछन्। उनी नाइका रुपमा सेनामा भर्ती भएका थिए।

परिवारमा अरु कोही पनि कपाल काट्ने पेसामा आबद्ध नभएका उनले अरुको देखासिकी गरेर कपाल काट्न जानेका रहेछन्।

उनी सैनिक पेसामा आबद्ध हुँदा विभिन्न ठाउँमा पोस्टिङ भयो। त्यसैले उनले धेरै ठाउँमा जाने र धेरै मानिससँग संगत गर्ने अवसर पाए।

पोखराबाट सेनामा भर्ती भएपछि उनी मुस्ताङ, पाल्पा, डोल्पा, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, आदि ठाउँमा उनको पोस्टिङ भयो।

उनी पाल्पामा हुँदा राजा वीरेन्द्र आएका रहेछन्। वीरेन्द्र आउँदा भीमले उनको कपाल काट्ने मौका पाएका रहेछन्।

राजा वीरेन्द्रबाहेक उनले युवराज दीपेन्द्र, वरुण शमशेर जबरा, रुक्मांगद कटुवाल, छत्रमान गुरुङ, आदिको कपाल पनि काटेका रहेछन् उनले।

उनी भन्छन्, ‘मिति त ठ्याक्कै याद भएन तर मैले त्यसबखत राजकुमार दीपेन्द्रको पनि कपाल काटेको याद आउँछ।’

ठूला मान्छेहरुको कपाल काट्दा भीम ठूलै टिप्स पनि पाउँथे। ‘राजा खुसी हुँदा १० हजारसम्म पाइन्थ्यो,’ उनी भन्छन्।

३ देखि १० हजार रुपैयाँसम्म टिप्स लिएको उनको भनाइ छ।

राजाको कपाल काटिरहँदा उनीसँग एक शब्द बोल्न नसकेको पनि भीम बताउँछन्। ‘हामीजस्तो सानो मानिसले राजाजस्तो मान्छेसित भलाकुसारी गर्ने हिम्मत त कसरी जुटाउने?’ उनी भन्छन्, ‘तर मैले कपाल काटिसकेपछि राम्रो लागेको प्रतिक्रिया चाहिँ दिन्थे।’

‘राजा वीरेन्द्रको व्यवहार सबैप्रति राम्रो थियो,’ उनले भने।

भीमबहादुर २०६५ सालमा सेनाबाट सेवानिवृत्त भए। त्यसलगत्तै उनले अमलटारीमा घरनजिकै सैलुन खोले।

सेनामा आबद्ध रहँदा विभिन्न ठाउँ चहार्दा परिवारलाई त्यति समय दिन सक्दैनथे तर अहिले उनी परिवारसँग बस्न पाएका छन्। त्यसमाथि गुजारा चलाउने कमाइ पनि गरिरहेका छन्।

पहिले उनले बजारमा भाडामा सैलुन चलाएका थिए। घर बनाएपछि चाहिँ उनले सैलुन आफ्नैमा सारेका छन्। उनी मासिक १५ हजारजति कमाउँछन्। अहिले पनि उनलाई सैनिक ब्यारेक तथा उनलाई चिनेका विभिन्न ठाउँका मान्छेहरुले कपाल काट्न आउन अनुरोध गर्ने गर्छन्।

उनकोमा कपाल कटाउन मात्र होइन ढाड मालिस गराउन पनि थुप्रै मानिस आउने गरेका छन्। अमलटारी होमस्टेतिर घुम्न आउनेहरु पनि आफूकहाँ ढाड मालिस गर्न आउने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *