पर्यटकीय गन्तव्यको रूपमा ‘थारू होमस्टे’ अमलटारी

कमल चौधरी/बुटवल।
जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक बस्नका लागि पछिल्लो समय विभिन्न किसिमका थारु सांस्कृतिक अतिथि गृह, टाइगर टपलगायतका उच्च स्तरका होटलदेखि लिएर थारु होमस्टे’सम्म व्यवस्थितरुपमा सञ्चालित छन् ।

विभिन्न जाति समुदायद्वारा सञ्चालित बोटे कटेज, श्रेष्ठ कटेज र थारु कटेजले अमलटारी पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्न पुगेको छ । अमलटारीमा भिलेज वाक, बयलगाडा सफारी, जंगल वाक, साइकल टुर, जीप सफारी, जंगल सफारी, बोटिङ्ग, पोखरीमा फिसिङ्ग, नारायणी नदीमा सुर्योदय र सुर्यास्ता अवलोकन, थारु संग्रहालयको अवलोकन र स्थानीय थारु तथा बोटे समुदायका सांस्कृतिलगायतको कार्यक्रमले थप पर्यटकहरु भित्रिन मद्दत पुगेको छ ।

अहिले दिनहुँ पर्यटकहरुको आगमनमा वृद्धि भएसँगै स्थनीयहरु ‘होमस्टे’ बाट राम्रो अम्दानी गर्न सफल भएका छन् । होमस्टे संचालक समितिका एक सदस्य सिमाल महताले भन्छन्– ‘अहिलेसम्म करिब ५३ हजार ५ सय ५५ जनाले अमलटारीमा रात बिताइसकेका छन् ।’ जसबाट ३ करोड ४५ लाख अम्दानी भैसकेको जनकारी गराए । जैविक विविधता संरक्षणसँगै आय–आर्जन बढाउने उद्देश्यले सुरु गरिएको यस होमस्टे अहिले हरेकले दुई–दुई कोठे भवन बनाएका छन् ।

होमस्टे सञ्चालकले मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । गाउँमा आइपुग्ने पर्यटकले थारु, बोटे र मुसहर संस्कृतिका साथै जंगल सफारी, बोटिङ र बयल गाडामा गाउँ भ्रमण गराउँन पाउँदा स्थानीय पनि निकै खुसी भएको अनुभव सुनाए । पर्यटक बढ्दै गएकाले थप ४ वटा घरमा होमस्टे थप गरेको अर्का एक संचालक समितिका सदस्यले बताइन् ।

वि.सं ०७० जेठ ५ गते सुरु गरिएको यस अमलटारी मध्यवर्ती होम स्टे ५ वर्षमा धेरै परिवर्तन हुन सफल भएको छ । कावासोती नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष देवेन्द्र महतो भन्छन्– ‘होम स्टेको कारणले नै थारु लागयत बोटे र मुसहर समुदायको दैनिकी गुजार गर्ने शैलीमा परिवर्तन आउनुको साथै पर्यटकहरुलाई सेवा गर्न मौका पाएका छौं ।’

पर्यटकहरु अगमनसँगै अतिथि गृह सञ्चालन

दैनिकरुपमा पर्यटकहरुको आगमनसँगै पछिल्लो समय कावासोती–१५ गोडर अमलटारीमा वैशाखदेखि थारु सांस्कृतिक अतिथि गृह प्रा.लि. सञ्चालनमा आएको छ । महिला समूहद्वारा सञ्चालित थारु सांस्कृतिक अतिथि गृहले अझ पर्यटकहरुको आकर्षण बन्न सफल भएको छ ।

६० लाखको लगानीमा २८ सदस्यीय थारु महिलाद्वारा सञ्चालित यस अतिथि गृहले पर्यटकहरुको भरपूर्ण मनोराञ्जन गर्नको लागि विविध थारु संस्कृतिक कार्यक्रमहरु लाथी नाँच, झुमरा नाँच गर्नुको साथै चिचर, घोंगी, लिटी, सोझुवा रोटी, लोकल कुखुरा, हाँसको मासु र माछाका परिकारहरु पाहुँनाहरुको माग अनुसार खुवाउने गरेको अतिथि गृह संचालक समितिका अध्यक्ष देउकुमारी महतोले बताइन् ।

ग्रामीण समुदायमा उत्पादित सामाग्रीहरुलाई बजारीकरण गर्ने र पर्यटकहरुलाई बढिभन्दा बढी गुणस्तरीय प्रदान गर्नको लागि २५ कठ्ठा क्षेत्रफलमा थारु संस्कृतिक अतिथि गृह बनाएका छन् ।
जसमा ४ विघा जग्गालाई लिजमा लिएर सामुहिक अर्गानिक खेती समेत गरेको संस्थाका सचिव विनु महतोले बताईन् । उनले भनिन् ‘पाहुँनको सेवाको लागि अर्गानिक खानको साथै आरामदायी बासको व्यवस्था र कार्यक्रम संचालन गर्नको लागि सेमिनार कक्षको समेत व्यवस्था गरेका छौं ।’

जंगल सफारी मुख्य आकर्षण
अमलटारी पर्यटकीय मुख्य कारण अमलटारीमा पनि जंगल सफारी गर्न पाउनु हो । घना जंगलको बीच बाटो हुँदै जंगल सफारी गर्न पाउँदा पर्यटक भरपूर्ण मनोराञ्जन प्रदान गर्दछन् । जहाँ प्रशस्त जंगली जनावर र चराचुरुङ्गी तथा जलचर भेटिन्छन् । २ वटा नाकाबाट गरिने जंगल सफारी १७ किलोमिटरको छ भने यो सफारीका लागि साढे २ घण्टादेखि करिब ३ घण्टासम्म लाग्छ । जंगल सफारी शुरु भएको केहिबेर देखिनै फाट्टफुट्ट रुपमा बाह्रसिंगे, कालिज तथा जलचरले पर्यटकलाई स्वागत गर्छन् । नारायणी नदीको तिरैतिर सफारी अघि बढ्दै जाँदा बाक्लो मात्रामा मृग, हरिण, बँदेल देखिन्छन् भने मध्यभागमा पुगेपछि मृग र हरिणहरु बथानका बथान भेटिन्छन् । कतै बाह्रसिंगे त कतै मयुर भेटिदा सफारीको मज्जा बेग्लै हुन्छ । सो क्रममा कतै एकल त कतै जोडा बाँधेर बसेका गैंडाहरु पनि बीच–बीचमा भेटिन्छन् । जसले जंगल सफारीमा छुट्टै आनन्द दिन्छ । जंगलमा चितुवा, भालु, बाघ लगायतका अन्य बन्यजन्तु पनि भेटिने गरेको स्थानिय बसिन्दा गुन बहादुर थनेतले जानकारी गराए ।

उनले विगतलाई सम्झिदै भन्छन्– ‘पहिला–पहिला वन संरक्षणको अभावमा विभिन्न जनावरहरु लोप भएर देखिनै छाडेका थिए । तर अहिले विभिन्न स्तरबाट भएको संरक्षणको प्रयासले लोपोन्मुख जनावरहरु बाघ, भालु, गैँडा लगायतका जनावरहरु देख्न पाएका छौं ।’ यसले गर्दा स्थानीय स्तरमा संरक्षणको महत्व बुझाउन सक्ने हो भने ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने एउटा नमुना अमलटारी रहेको छ ।

पाहुँनालाई नाँचौनाँचौ हुने सांस्कृतिक कार्यक्रम
पर्यटकहरुलाई बिहानको नास्ता पनि गाउँमै उत्पादन गरिएको अर्गानिक सामाग्रीबाट बनाइएका परिकारहरु दिइने गरिन्छ । नास्ताको रुपमा थारु परिकार चिचर (चामललाई उसिनेर बनाईने परिकार), सजुवा रोटी (चामलको रोटी) लगायत खान पाइन्छ । हाँसको छोइला, घुँगी, माछा समेत यहाँ पाईने थारु खानँहरु हुन् । ती परिकारको मिठो स्वाद लिन पाइन्छ । खानपिन सकेपछि हरेक दिन बेलुकी पाहुँनाको अनुरोध बमोजिम थारु र बोटेको सांस्कृतिक कार्यक्रम पनि हेर्न पाइन्छ ।

थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाँच यहाँ देख्न पाइने सांस्कृति कार्यक्रम हुन् । थारु र बोटे पहिरनमा ठाँटिएका युवायुवतीले राती ९ बजेदेखि १० बजे करिब १ घण्टासम्म मनोरञ्जनात्मक कार्यक्रम पस्किन्छन् । आफ्नो पहिचान झल्कीने पहिरनमा थारु भाषाको स्वरमा नै भरपूर्ण मनोरञ्जन प्रदान गरिन्छ । पछि पर्यटकलाई नै गित गाउँने बजाउने जिम्मा दिएर पनि मनोरञ्जन गर्नुको साथै कार्यक्रमको अन्तिममा चल्तीका गित सुनाएर पाहुँनाहरुलाई नाँचौनाँचौ बनाउँछन् । पाहुनालाई नाच्न आग्रह गर्दै कुर्सीसम्मै लिन आईपुग्छन् ।

होमस्टे सुरु भएपछि गाउँको मुहार फेरिँदै
थारु बस्तीमा पनि विकास निर्माणका कार्य द्रुत गतिमा गर्न सफल भएको छ अमलटारी । विगत ५ बर्षको अवधीमा होम स्टेको सुरु संगै गाउँको मुहार मात्रै होइन स्थानीय महिला पुरुषले व्यवसायीक रुपमा पर्यटक भित्रएर मनग्य अम्दानी गर्न सफल भएका छन् । अहिले होम–स्टे सुरु भएपछि गाउँको मुहार फेरिएको छ । विदेशीएका युवा गाउँ फर्किएका छन् । होम–स्टे भएका घरले मात्र नभई अन्यले पनि त्यसैलाई देखाएर आम्दानी लिन सकेका छन् ।

गाउँमै रहेका बोटे मुसहर बस्तीले पनि होम–स्टे बाट फाइदा पाएका छन् । होम–स्टे बोटे, मुसहर लगायतका धेरै थारु समुदायका बासिन्दाले तरकारी खेतीसँगै कुखुरा पाल्न थालेका छन् । पालेका कुखुरा गाउँमै खपत भएपछि उनीहरुलाई बजारको अभाव छैन । मुसहर र बोटेको जीवनस्तर उकास्न दुई समुदायका लागि ४–४ वटा माछापोखरी बनाइएको छ । तीनै पोखरीमा माछा पालेर मुसहर र बोटेले आम्दानी गरेका छन् । पछिल्लो समय सडक, पिउने पानी र संचारको राम्रो सुविधाको कारणले अमलटारी पर्यटकहरुको लागि राम्रो गन्तब्य बन्दै गएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *