ओली क्याबिनेटका एक्ला थारू मन्त्री रामकुमारी चौधरी

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दा देशकै चौथो ठूलो जनसंख्या भएको थारु समुदायबाट रामकुमारी चौधरी एक्ला मन्त्री बन्न सफल भइन्। माओवादी केन्द्रकी समानुपातिक सांसद चौधरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि माओवादीमा मन्त्रीको सिफारिसमा परिएको भनिएका अमनलाल मोदी भने मन्त्री बन्न सकेनन्।

माओवादीबाट मोदीबाहेक बर्दियाबाट सन्तकुमार चौधरी र कैलालीबाट गौरीशंकर चौधरी प्रत्यक्षबाट निर्वाचित सांसद छन्। यी दुबैजना यसअघि नै मन्त्री बनिसकेकाले मोदीको मन्त्री बन्ने सम्भावना प्रबल देखिएको थियो। तर उनी मन्त्री बन्न असफल भए। उनका सट्टा माओवादीबाट गिरिराजमण पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्।

त्यस्तै देशकै ठूलो दल एमालेबाट भने कुनै थारु मन्त्री बनेनन्। यसअघि कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित नारदमुनी राना र दाङकी समानुपातिक सांसद शान्ता चौधरीको मन्त्री बन्ने हल्ला सुनिएको थियो। तर तेस्रोपटकको मन्त्री विस्तामा यी दुबैजना अटाएनन्। एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री बनाएका छन्। त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन्। एमालेबाट जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन्।

त्यस्तै गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ। त्यस्तै, पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री बनेकी छिन्। त्यस्तै एमालेले धनबहादुर बुढालाई संस्कृति राज्यमन्त्री बनाएको छ।

यसअघि फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुई र माओवादी केन्द्रका दुई मन्त्री थप गरेका थिए। ओलीले एमालेका इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री बनाएका थिए।

सरकारमाअब प्रधानमन्त्री सहित एमालेका ११ मन्त्री भएका छन् भने ३ राज्यमन्त्री भएका छन्। त्यस्तै माओवादीका ७ मन्त्री र १ राज्यमन्त्री भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *