रेशमको रिहाई माग गर्दै थाकस नवलपरासीद्वारा आन्दोलन घोषणा

जितनारायण थनेत/नवलपरासी।

प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व डण्डामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा नवलपरासीका सभापती गणेशमान महतोले फागुन २८ गते सोमवारदेखि चैत्र ५ गतेसम्म आन्दोलनका लागि प्रत्येक वडामा गएर जनजागरण अभिायान सञ्चालन गरिने जानकारी गराए।

यस्तै चैत्र ६ गते आमभेला , चैत्र ७ गते सदरमुकाममा प्लेकार्डसहितको र्याली, चैत्र ८ गते साँझ मसाल जुलुस, चैत्र ९ गते जिल्ला प्रशाशन कार्यालय नवलपुरमा धर्ना र चैत्र १० गते विरोध सभाको कार्यक्रम गरिने महतोले बताए। यी सबै कार्यक्रमबाट पनि आफूहरुको माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम घाषणा गरिने महतोले बताए।

पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारको विभेदकारी नीतिको आफूहरुले विरोध गरेको बताए। सरकारी अनुसन्धानबाट नै चौधरी दोषी नरहेको प्रतिवेदनमा आउँदाआउँदै चौधरीलाई सपथ खान नदिनु, सासंद नमान्नु र थुनामा राख्नु मानव अधिकारी विरोधी क्रियाकलाप भएको महतोले आरोप लगाए।

यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इनर प्रसाद महतोले कैलालीको टीकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरे। कैलाली कारागारमा आमरण अनसनमा बसेका २४ जना अनसनकारीहरुको जीउज्यानको रक्षा गर्दै अबिलम्ब अनसन तोड्ने वातावरण बनाई रिहा गर्न माग गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *