थाकस चितवनको सभापतिमा ललितकुमार चौधरी निर्वाचित

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललित कुमार चौधरी निर्वाचित भएका छन्। नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ललित चौधरी ७६ मतका साथ सभापतिमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी हरिचन्द्र चौधरीले ४६ मत प्राप्त गरे।

यस्तै केन्द्रीय प्रतिनिधिहरुमा विश्राम महतोको (९९), लक्ष्मी चौधरी (९६), हेमराज महतो (६४), राजेन्द्र चौधरी (४५) मतका साथ निर्वाचित भए। खुल्ला प्रतिस्पर्धामा बासुदेव चौधरी, दुखाराम चौधरी, विश्वराम महतो, कृष्णप्रसाद महतो, अर्जुनप्रसाद चौधरी र विक्रमलाल चौधरी प्रतिस्पर्धामा थिए। महिला कोटामा भने विष्णुकुमारी चौधरी सर्वसम्मत रुपमा चयन भइन्।

यस्तै सदस्यहरुमा कमानसिंह चौधरी, नन्दलाल चौधरी, झलक महतो, बलिराम महतो, कल्पना कुमारी पावे, सविता चौधरी, लिलकुमार गुरौं, जीवनकुमार महतो, बिस्मति महतो, जितबहादुर महतो सर्वसम्मत चयन भए।

यसअघि १० जना सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेको थियो। नयाँ नेतृत्व ३ वर्ष कार्यकालको रहने छ ।

थाकस चितवनको १२ औं अधिवेशन विहीबारदेखि पटिहानीमा सुरु भएको थियो। अधिवेशनको बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल भएको थियो । बन्द सत्रमा उपसभापति अर्जुन चौधरीले नीति तथा कार्यक्रम, सल्लाहकार ललित कुमार चौधरीले सांगठनिक तथा राजनीतिक प्रतिवेदन, केन्द्रीय पार्सद कृष्ण चौधरीले भावी कार्ययोजना, सचिव सन्तराम महतोले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष लिलाराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै कानुनी सल्लाहकार शिवराम महतोले केन्द्रका लागि विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गरेका थिए। बन्द सत्रमा १६८ जना प्रतिनिधि र उल्लेख्य संख्यामा पर्यवेक्षकहरुको सहभागिता रहेको सभापति विश्राम महतोले जानकारी दिए। थारु कल्याणकारिणी सभा चितवनको १२औं अधिवेशनको प्रदेश सांसद रामलाल महतोले समुद्घाटन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *