कपिलवस्तुमा माघी महोत्सवको भव्य तयारी

सीताराम चौधरी/चन्द्रौटा।

माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो ।  माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको छ । तीन दिनसम्म संचालन हुने माघी महोत्सव भव्य रुपमा सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । महोत्सव सफल बनाउन आर्थिक संकलन, सम्पर्क समन्वय लगायतका कार्यलाई अघी बढाइएको छ ।

यही पुस २७ देखि २९ गतेसम्म आठौं माघी महोत्सव संचालन हुनेछ । महोत्सव सफल बनाउन थारु कल्याणकारिणी सभाका अध्यक्ष जन्जिरप्रसाद थारुको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । १६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकार आदि स्टलहरु रहनेछन् । महोत्सवमा थारु जातिको विभिन्न नाच तथा झाँकीहरुको प्रदर्शन रहनेछ । थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता रहने बताइएको छ । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाका थारु समुदायका जेष्ठ नागरिक र थारु उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष जंजीर प्रसाद थारुले जानकारी दिनुभयो । लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न माघी महोत्सवलाई निरन्तरता दिंदै आएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं माघी महोत्सव मूल समिति संयोजक जंजीरप्रसाद थारुले बताउनुभयो । बृहत रुपमा ठाउँठाउँमा यस किसिमका विभिन्न रचनात्मक तथा सीपमूलक कार्यक्रमहरु गर्नसके प्रचारप्रसारमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच थारु जागृति युवा क्लबको आयोजनामा वाणगंगा न.पा.११ हथौसाको महाशिवरात्री मेला स्थलमा माघी महोत्सव लगाउन थारु अगुवा भव्य तयारीमा जुटेका छन् । क्लब, बुद्धिजिवी, समाजसेवी, थारु अगुवा कार्यकर्ताको संयुक्त भेलाले माघी महोत्सव सम्पन्न गर्न दशरथ थारुको संयोजकत्वमा ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति गठन गरेको छ ।

“थारु भाषा, कला, संस्कृति हम्मनके शान, आदिवासी थारु बचाई आपन पहिचान” मूल नारासहित माघी पर्वको अवसरमा महोत्सव लगाउने तयारी गरिएको आयोजकले जनाएको छ । आगामी माघ २ देखि ४ गतेसम्म माघी महोत्सव संचालन हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा पुस ३० गते मेलास्थलमै रक्तदान कार्यक्रम गरिने समेत आयोजकले जानकारी दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *