टीकापुर घटनामा रामजनम, धनिराम, रुक्मिणी, राजकुमारहरु कति दोषी ?

विनय चौधरी।
नेपालको इतिहासमा धेरै हत्या हिंसाका घटनाहरु हुँदै आएका छन् । जसमा धेरैजसो व्यक्ति र परिवारहरु पीडित भएका छन् । यसै सन्दर्भमा दुई वर्षअघि २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको विषयका केही तथ्यहरु उजागर गर्न मन लाग्यो । टीकापुर घटना एउटा आर्थिक, राजनीतिक र सामाजिक न्याय र अधिकारको लागि भएको आन्दोलनलाई आन्दोलनका नेतृत्वकर्ताहरुले सही दिशा दिन नसक्दाको परिणाम होजस्तो लाग्छ । जुन आन्दोलनले झण्डै साम्प्रदायिकताको रुप लिएको थियो ।
आज टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उक्त घटना झनै चर्चामा रहेको छ । टीकापुर घटनामा ७ जना सुरक्षाकर्मीसहित अढाई वर्षे नाबालकले समेत ज्यान गुमाउनु प¥यो । उक्त घटनाले सम्पूर्ण नेपालीहरुको मन रोएको थियो । तर घटनाको दोस्रो दिन जुन खालको गतिविधि टीकापुरमा भयो, त्यसको प्रचार गरिएन तर त्यो प्रतिशोधपूर्ण कार्य झनै निन्दनीय थियो । यसको अर्थ पहिलो घटना उपयुक्त थियो भन्ने मनसाय कुनै दृष्टिकोणले कसैको पनि थिएन । उक्त घटनाको विश्लेषण गर्दा एउटा राजनीतिक र सामाजिक समानताको लागि गरिएको आन्दोलन कसरी हिंसात्मक बन्न पुग्यो भन्ने विषय महत्वपूर्ण हुन आउँछ । नेपालका थारू जातिको इतिहास हेर्ने हो भने थारू जाति सधैँ इमान्दार, मेहनती र गरिखाने वर्गमा पर्छ । त्यही थारू जातिले आफ्नो राजनीतिक र सामाजिक पहिचानको लागि गरेको आन्दोलन हिंस्रक हुनु दुःखद् विषय हो । यो दुःखद् घटनामा मुख्यरूपमा आन्दोलनका नेतृत्वकर्ता र सरकार नै जिम्मेवार हुन् भन्ने कुरामा दुई मत नहोला ।

टीकापुर घटना र उक्त घटनाको मुख्य आरोपी कहलाइएका रेशम चौधरीलाई हेर्दा कतिपय रोचक र कपोकल्पित तथ्यहरु अगाडि आइरहेका छन् । रेशम चौधरीलाई घटनाको मुख्य आरोपी मानेर राज्यले अत्यधिक खोजी गरिएको अपराधीको सूचीमा राख्दा उक्त आन्दोलनका नेतृत्वकर्ताहरु भने बालुवाटारमा प्रधानमन्त्रीसँग कुम जोडेर आफ्नो भाग मागी रहेका थिए । आन्दोलनका मुख्य नेतृत्वकर्ता रामजनम चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, धनीराम चौधरी, राजकुमार लेखीजस्ता व्यक्तिहरु उक्त घटनाका दोषी हुन् कि होइनन् ? यो प्रश्न राज्यसामू राख्न जरुरी छ । रेशम चौधरी कैलाली जिल्लाका ६ जना क्षेत्रीयस्तरका नेतृत्वकर्ता मध्येका एक हुन् र यो घटना उनैले नेतृत्व गरेको क्षेत्रमा परेका कारण उनलाई दोषी देख्नु जायज हो भने रेशम चौधरीसमेतको नेतृत्व गर्नेहरुलाई दोषी नदेख्नु कुनै तवरले जायज मान्न सकिँदैन ।

टीकापुर घटनालाई कुनै पनि व्यक्ति वा समूहले गराइएको जायज हो भनेर भन्न मिल्ने ठाउँ छैन । हरेक गलत कदमविरुद्ध राज्यले दिने सजायलाई पनि गलत मान्न सकिँदैन । तर कुनै पनि घटनाको दोषी सत्य, तथ्य र संलग्नताको आधारमा पुष्टि भयो भने मात्र न्यायसंगत हुन्छ । सत्य, तथ्य र संलग्नताको आधारमा हेर्ने हो भने उक्त आन्दोलनका प्रमुख नेतृत्वपंक्ति पहिलो दोषी देखिन्छन् भने रेशम चौधरी दोस्रो र सम्पत्तिमा आगजनी, महिलाहरुमाथिको दुव्र्यवहार लगायतका विभिन्न गलत क्रियाकलापमा संलग्न हुनेहरु पनि त्यतिकै दोषी देखिन्छन् ।

एकल रुपमा रेशम चौधरीलाई मात्रै दोषी देख्नु न्यायपूर्ण छैन । राजनीतिक, सामाजिक पहिचानको आन्दोलनमा संलग्न भएबापत् दोषी मानिने हो भने यो देशमा अमर शहिदहरुको हत्याको आरोपमा तत्कालीन गृहमन्त्रीहरुलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा ज्यान गुमाएकाहरुको आरोपीका रुपमा तत्कालीन सरकारमा रहेका व्यक्तिहरु र नेकपा माओवादीका नेतृत्वपंक्तिलाई समेत कानूनको दायरामा ल्याउनुपर्छ ।

यी सबै कुराहरु गरिरहँदा रेशम चौधरीको कुनै दोष छैन भन्न खोजिएको होइन । रेशम चौधरीको संलग्नता अनुसारको दोष छानबिन गरी कारबाही गरिनुपर्छ, तर एक्लै रेशम चौधरीलाई दोष देखाएर मुख्य नेतृत्वकर्ताहरुले राजनीतिक संरक्षण पाउनु कुनै तवरले मुनासिव देखिँदैन । भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनले टीकापुर घटनाको यथार्थ फरक रहेको कुरा प्रष्ट पारेको जस्तो देखिन्छ । कैलालीबाट कुनै पनि निर्वाचन नहारेका थारू आन्दोलनका मुख्य नेतृत्वकर्ता मध्येका एक रामजनम चौधरीले निर्वाचनमा हार व्यहोर्नु र घटनाका मुख्य आरोपी मानिएका रेशम चौधरी अनपेक्षित रुपमा घटना भएकै क्षेत्रबाट निर्वाचन जित्नुले पनि उक्त घटनाको यथार्थ फरक रहेको कुरा प्रष्ट गर्छ । मेरो आशय कुनै अपराधीलाई उन्मुक्ति दिनुपर्छ भन्ने होइन, बरु घटनाको सत्य, तथ्यका आधारमा सबै संलग्नहरुलाई संलग्नताको आधारमा कारबाही हुनुपर्छ भन्ने हो । कुनै एक जनालाई दोषी मानेर वास्तविक दोषीहरुलाई उन्मुक्ति दिनु न्यायिक समानता हुनै सक्दैन । त्यसकारण राज्यले घटनाको पुनः यथार्थ छानबिन गरी मुख्य दोषी खोजी गरी पीडितहरुलाई राहत दिनुपर्छ ।

आज घटना भएकै क्षेत्रमा घटनाको मुख्य आरोपी मानिएका व्यक्तिले निर्वाचन जित्नुले पनि घटनाको यथार्थ फरक रहेको पुष्टि गर्छ । टीकापुर घटनालाई कतिपय व्यक्तिहरुले निहित स्वार्थ पूरा गर्नका लागि साम्प्रदायिक रुप दिन समेत खोजेका थिए र छन् । यस्ता व्यक्तिहरुको समेत पहिचान गरेर कारबाही गर्नु जरुरी छ । किनकि हाम्रो जस्तो बहुलवादयुक्त समाजमा साम्प्रदायिकता प्रवेश ग¥यो भने मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्दछ । टीकापुर घटनालाई साम्प्रदायिक रुप दिन खोज्नेहरुलाई टीकापुर बासी न्यायप्रेमी जनसमुदायले गतिलो जवाफ दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित हुँदा रेशम चौधरीले प्राप्त गरेको मत संख्या हेर्दा उक्त मत संख्या थारू समुदायले मात्र मतदान गरेको होइन भन्ने प्रष्ट हुन्छ । अर्थात् घटनाको यथार्थ बुझेका सबै समुदायले रेशम चौधरीलाई दिएको मतले घटना साम्प्रदायिक नभएको पुष्टि गर्नुका साथै घटनाको यथार्थ फरक रहेको भन्ने प्रमाणित गरेको छ ।

समग्रमा टीकापुर घटना अमानवीय र निन्दनीय घटना हो । उक्त घटनाको न्यायिक छानबिन गरी वास्तविक दोषीहरुलाई कानुनको दायरामा ल्याई कारबाही गरिनुपर्छ भने मृतक परिवारलाई न्याय दिइनुपर्छ ।

काठमाडौं कञ्चनपुर सम्पर्क समिति मञ्च




Leave a Reply

Your email address will not be published. Required fields are marked *