अनुगमन रिपोर्ट भन्छ- ‘दमनको फाइदा रेशम र लक्ष्मणलाई’

प्रदीप चौधरी

आफूसँग धेरै ब्यक्तिहरुको फोन नं रहेको र उनीहरुबाट समग्र जिल्लाको मतदाता शिक्षा र चुनावको अबस्थाबारे जानकारी लिने काम गरिरहेको थिएँ । तर दिएको जानकारी सही हो वा होइन बिश्वास गर्न गार्हो भैरहेको थियो । अाफू नगएसम्म के हो ? के हो ? भन्ने लागेर ०७४ मंसिर ९ र १० गते कैलालीको क्षेत्र नं ३, १ र २ को अनुगमन गरियो ।

प्रदेश नं ३ मा गौरीशंकर, रामजनम चौधरी, भानुराम थारु र मीना चौधरीको प्रचारप्रसार देखियो । चुनाव पैसाको पनि खेल भएकोले भानुराम चौधरी भन्दा माओवादीका गौरीशंकर चौधरी र काँग्रेसका रामजनम चौधरी अगाडि देखिएका थिए । प्रदेशमा कृष्णकुमार चौधरी र बीरभान चौधरी अगाडि देखिएका थिए ।

प्रदेश न‌ं १ मा बाहिर एमाले काँग्रेसको प्रचारप्रसार भब्य देखिएको छ । तर भित्र गहिरिएर पस्ने हो भने रेशम चौधरी धेरैको दिलमा बसिसकेका छन् । हिजोका दिनमा जनकसँग नराम्ररी पराजित भएका रेशम अहिले थारुहरुका लागि हिरो भएका छन् । रेशमलाई भोट नदेऊ भन्नेहरु माइनस् हुने अबस्था छ । फलस्वरुप काँग्रेस एमालेका कार्यकर्ताहरु पनि हरियोमा छातालाई र कालोमा रुख/सूर्यलाई भनिरहेका छन्।

अनुगमनको क्रममा एक ठूला गाउँका थारु पसलेले भने “बाहिर सडकमा सूर्य र रुखका ब्यानरहरु झुण्डिए पनि यो गाउँको ७० प्रतिशत मत रेशमलाई जान्छ ।” कैलाली कारागारमा रहेका बन्दीहरु प्रायः रेशमको क्षेत्रका रहेकाले पनि रेशमको पलरा धेरै भारी देखिएको छ । रेशमको सीधा टक्कर गरिमासँग हुने धेरैको बुझाई छ ।

क्षेत्र नं २ मा नेपाली काँग्रेसको पलरा भारी देखिएको छ । प्रतिस्पर्धा नेपाली काँग्रेस र एमालेकै छ । तर नेपाली काँग्रेसमा पहिले लोकतान्त्रिक फोरममै रहेका अरुण चौधरी थरुहटका कार्यकर्ताहरुको सल्लाह बमोजिम उता लागेका र माेहनसिंह राठौरले बोली बचन र सहयोगी भावनाले त्यहाँका धेरै स्थानिय जनताको मन जितिसकेकाले उनको पलरा भारी देखिएको हाे । यो क्षेत्रमा छाता चुनाव चिन्ह लिएर रामप्रसाद चौधरी उठेका छन् । उनको भित्री साँठगाँठ एमालेसँग रहेको कुरा ब्यापक प्रचारप्रसारमा आएकोले पनि मान्छे काँग्रेसतिर आकर्षित हुँदैछन् ।

क्षेत्र नं ४ मा माओवादीका लेखराज भट्ट काँग्रेसका सुनिल भण्डारी र स्वतन्त्र उम्मेदवार गीता राणाको टक्कर छ । लेखराज भट्ट थारुहरुका नजरमा राम्रा छैनन् तर एमालेको समर्थन भएकोले बलियो रहेको माओवादीको जिकिर छ । सुनिल भण्डारीलाई धेरैले चिन्दैनन् । तर प्रदेश सभामा ब्याकवार्ड सोसाइटी एजुकेशनका केन्द्रीय उपाध्यक्ष यज्ञ चौधरी काँग्रेसबाट प्रदेश सभाका उम्मेदवार भएकाले भण्डारी बलियो रहेको दाबी उनीहरुको छ । यही क्षेत्रबाट चंगा चुनाव चिन्ह लिएर गीता राणा
स्वतन्त्र रुपमा उठेकी छन् जो लोकतान्त्रिक फोरमका पूर्ब केन्द्रीय सदस्य पनि हुन् । यिनको सहयोगी भावना स्वतन्त्र उम्मेदवार भएका कारण जोगी र भैंसीको डरको फाइदा यिनलाई पर्याप्त मात्रामा भैरहेको बुद्धिजीविहरुको भनाई छ । त्यसैले क्षेत्र नं ४ मा यिनको पनि चर्चा छ ।

क्षेत्र न‌ं ५ प्रधानमन्त्री पत्नी आरजू राणा र एमालेबाट नारदमुनी राना प्रतिनीधि सभाका उम्मेदवार छन् । बिबेकशील साझा पार्टीबाट परिचित ब्यापारी दिनेश भण्डारी र राजपाबाट लक्ष्मण थारु पनि यिनका प्रतिस्पर्धी हुन् । राणा र रानाको बाहिर खूब चर्चा छ तर दिनेश भण्डारी र लक्ष्मण थारु पनि यहाँ कम छैनन् । आरजु राणाको धेरै मत तराजुले काट्ने र नारदको धेरै मत लक्ष्मणले काट्ने भएकाले काँग्रेस र एमाले पनि ढुक्क हुन सकेका छैनन् ।

समग्र चुनावी अवस्था हेर्दा के देखिन्छ भने ठूला दलहरुका उम्मेदवारहरु जित्न सक्ने कुरामा ढुक्क छैनन् । यही कारणले काँग्रेस आफैं पनि र प्रहरी समेतको सहयोग लिई रेशम चौधरी र लक्ष्मण थारुको चुनावी प्रचारप्रसारमा अवरोध पुर्याएको समाचार बाहिर आइसकेको छ । एमाले र माओवादीको जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने अबस्था छ भने लोकतान्त्रिक फोरमबाट काँग्रेसमा प्रवेश गर्नेहरुप्रति पनि जनता बिश्वस्त हुन सकेका छैनन् ।

रेशम र लक्ष्मण आफैं उम्मेदवार भैसकेको क्षेत्रमा उनीहरुलाई नकार्न बामपन्थी थारुले पनि सकेका छैनन् । यहाँ सेन्टमेन्टले ठूलो काम गरेको छ । यस सम्बन्धमा टीकापुर सत्ती बजार राेड नजिक पर्ने गाउँका बीर बहादुर चौधरी भन्छन् “रेशम र लक्ष्मण हाम्रा लागि निर्बासित र जेल जीवन बिताइरहेका छन्, उनीहरुले समुदायप्रति गुण लगाएका छन्, उनीहरुले लगाएको गुणको ऋण तिर्न १ भोट उनीहरुलाई दिन जरुरी छ, म राजपालाई मान्दैन, तर रेशम र लक्ष्मणले गरेको योगदानको कदर गर्दछु ।” उनको यो भनाईले समुदाय केहि संबेदनशील भएको पुष्टी गर्दछ । थारुहरुलाई संबेदनशील बनाउनुमा राज्यको ठूलो हात छ । राज्यले गरेको दमनले रेशम र लक्ष्मणलाई फाइदा पुगेको भन्छन् थारु बुद्धिजीविहरु ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *