राजपाको घोषणापत्रमा मधेस छुट्टै ‘राष्ट्र’ भएको उल्लेख

राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै ‘राष्ट्र’ भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ । राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही म‌ंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै ‘राष्ट्र’ रुपमा राजपाले उल्लेख गरेको छ । घोषणापत्रमा राखिएको यस्तो प्रावधानप्रति राजपाकै नेताहरुले असन्तुष्टि प्रकट गरेका छन् ।

राजपाले एक राज्य एक राष्ट्र हुनैपर्छ भन्ने धारणा आदर्शवादी भए पनि सधैं व्यवहारिक नहुने व्याख्या गर्दै दक्षिणतिरको समथर भूमिलाई छुट्टै राष्ट्रको रुपमा चित्रण गरेको छ ।

‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भए पनि देश फरक रहेको छ । त्यस्तै भारतको दार्जिलिङ, सिक्किम, आसम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी संस्कृति, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ,‘राजापाको घोषणापत्रको प्रस्तावनामा उल्लेख छ, ‘यसैगरीकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् तर ती सामूहिक रुपमा आफैंमा एक राष्ट्र पनि हो । जसको निश्चित भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ । यो भारत, मरिसस र अन्य देशका समुदाहरुसँग मेल खान पनि सक्छ ।’

पार्टीले घोषणापत्र बनाउने जिम्मेवारी राजपा अध्यक्ष मण्डलका सँयोजक महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले पार्टीभित्र छलफल नै नगरी मधेसलाई छुट्टै देशको रुपमा लिनुपर्ने धारणा घोषणापत्रमा ल्याएको प्रति पार्टीकौ नेतृत्वपंक्ति असन्तुष्ट भएको छ ।

राजापले घोषणापत्रमा मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महशुस नगरेसम्म एउटै राज्यराष्ट्रको निर्माण हुन नसक्ने बताएको छ ।

एउटै राज्यराष्ट्र बनाउने अभूतपूर्व अवसर असमावेशी चरित्रका मुख्य राजनीतिक दलहरु, संकीर्ण र नश्लीय सोच भएका अग्रेणी नेताहरु र केही हदसम्म यस्ता दल र नेताहरुसँग सानिध्यता भएका ‘तथाकथित’ नगारिक समाज र विज्ञहरुको अकर्मण्यता र व्यक्तिगत स्वार्थले गर्दा त्यो अवसर गुमेको राजपाको ठहर छ । ‘अब त्यो अवसर गुमेको मात्रै होइन, बरु नयाँ सघर्ष र विरोधको बाटो खोलिदिएको छ,’ राजापको घोषणापत्रमा उल्लेख छ ।

राजापले मधेसी समुदायको माग सम्वोधनका लागि हालको संविधान संशोधन अपिरिहार्य रहेको बताउँदै त्यसका लागि जस्तोसुकै सघर्ष र त्यागको लागि पूर्ण तयार रहेको उल्लेख गरेको छ । ‘पछिल्लो समयमा नेपाली कांग्रेस, माओवादी समेतको समर्थनमा संविधान संशोधन हुनुपर्छ भन्ने आसयका साथ पेश भएको संविधान संशोधनको विधेयकले ५८ प्रतिशत समर्थन पाएको थियो’राजापले उल्लेख गरेको छ,‘यसबाट यो संविधान झिनो अंकगणितको आधारमा टिकेको बास्तविकता स्वत: सावित हुन्छ ।’

कांग्रेसः भ्रष्टाचार र विसंगतीको भागिदार

एमाले र माओबादी केन्द्रको तुलनामा राजपाले कांग्रेसप्रति नरम दृष्टिकोण राखेको छ । लोकतन्त्रको हरेक सघर्षमा र आन्दोलनको नेतृत्वमा रहेको कांग्रेस बहुदलपछिको सवैभन्दा लामो समय सत्ताको केन्द्रमा रहेको उल्लेख गर्दै समयमै कांग्रेस सचेत, सजग र समझदारी नहुदा मधेस आन्दोलनमा दर्जनौ व्यक्तिहरुले ज्यान गुमाउन पुगेको बताएको छ । नेपालको दलिय र सँसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नाताबाद, सांसद खरिद बिक्री, चुनावमा पैसा र बलको अत्याधिक प्रयोग, जनप्रतिनिधिहरुको अलोकतान्त्रिक आचारण, दलिय फाईदाका लागि सरकारी ढुकुटीको दोहन, भ्रष्ट्रचारीजस्ता विसँगतिको भागीदार कांग्रेस रहेको राजपाको ठोकुवा छ ।

एमालेः सत्तालोलुप र अवसरवादी पार्टी

राजापले एमालेलाई नश्लीय सोच र विचार भएको पार्टीको रुपमा चित्रण गरेको छ । कांग्रेसको तुलनामा एमालेप्रति राजपा बढी आक्रमक देखिएको छ । एमालेलाई राष्ट्रिय एकता र अखण्डता र सामाजिक सद्भाव विथोल्ने पार्टीको रुपमा लिदै राष्ट्रियतालाई आफने सुविधाका लागि गलत व्याख्या गर्दै आएको बताएको छ । ‘जुन पार्टीले केही नेताको व्यक्तिगत महत्वाकांक्ष पुरा गर्न आफ्नै देशको एक तिहाई जनसँख्यालाई विदेशी, विखण्डनकारी र अराष्ट्रिय भन्न सक्छन, जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि विथोल्न पछि पर्दैन त्यो न राजनीतिक दल नै हो र त्यसको औचित्व छ भनेर कसरी भन्ने ?’ राजापले एमालेलाई स्वरुपमा राजनीतिक दल भएपनि विचार, आचरण र व्यवहारले आफूलाई एक सिद्धान्तहीन, असँवेदनशील, चरम अवसरवादी, विकास विरोधी, सँस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जानका लागि जे पनि गर्न सक्ने र जो सँगपनि मिल्न सक्ने पाहडि मुलुको उपल्लो जातीको सँगठन भनी आलोचना गरेको छ ।

माओवादी केन्द्रः लोपन्मुख पार्टी

राजापले माओवादी केन्द्रलाई लोपन्मुख हुन लागेको पार्टीको रुपमा चित्रण गरेको छ । ‘यो घोषणापत्र नेपाली जनताको हातमा पुग्दा सम्म नेकपा माओवादी केन्द्र कुन नामले चिनिने, कुन स्वरुप वा आकारमा भेटिने या नभेटिने वा फेरी कुनै अर्को पार्टीमा विलय नै हुने हो कि निश्चित छैन’ घोषणा पत्रमा भनिएको छ । राजपाले माओवादी केन्द्राई आफ्नो जन्मदेखिनै अनेकौ पटक सँगठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनैपनि मुद्दामा टिक्न नसकेको, पटक—पटक आन्दोलनमा जाने तर विना कारण फर्कने, द्रत गतिमा सहयात्री दलहरु फेरी रहने, स्वरमा ठुलो तर शासनकालमा अत्यन्तै फितलो भईदिने र हालका दिनेमा आफ्नो अस्तित्वनै मेटेर अर्को दलमा समाहित हुन तयार रहेको अन्यन्तै अस्थिर र अचम्मको लोपोन्मुख दल भनी चित्रण गरेको छ ।

वाम गठबन्धनः अवसरवादी गबठन्धन

राजपाले एमाले र माओवादी केन्द्रको मिलनलाई कम्यूनिष्टहरुको अवसरवादी मिलनेको रुपमा चित्रण गरको छ । ‘एउटा नेताको फेरी प्रधानमन्त्री बन्ने सपना र अर्को नेताको राष्ट्रपति बन्ने महत्वाकांक्षका कारणले कुनैपनि सिद्धान्तको लेसमात्रै पनि उपस्थित नभएको अत्यन्तै अल्पकालीन र अवसरबादी राजनीतिक हथकण्डा मात्रै हो’ एमाले र माओवादी केन्द्रको गठबन्धनप्रति राजपाको धारणा छ,‘दुई व्यक्तिहरुको (एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) नितान्त वैयक्तिक स्वार्थ पुरा गर्न यसले एमालेको ४० र माओवादीको ६० प्रतिशत नेतृतव बर्गको राजनीतिक जीवनसँग खेलवाड गरेको छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *