थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम हुने

दाङका थारु कलाकर्मीहरुले यही आउँदो मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङ्गौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सम्पूर्ण कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती रहने बताइएको छ । साथै थारुभाषा, कला, संस्कृति संरक्षणका लागि मौलिक गीत, नाच प्रस्तुती रहने आयोजकले बताएको छ । बैठकपछि गायक रोशन रत्गैँयाले उक्त कार्यक्रमको लागि तिव्र तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘जिल्ला बाहिर रहेका कलाकर्मीहरु आउनेक्रम जारी छ र अन्य जिल्लाबाट आएका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।’ त्यस्तै सो कार्यक्रमको लागि आर्थिक संकलन गर्न सबै थारुकलाकर्मीहरु आफ्नो तर्फबाट लागिरहेको उनले जानकारी दिए ।

हराउँदै गएको थारुभाषा, कला, संस्कृति संरक्षणका लागि थारु कलाकार संघ दाङले सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ । ‘थारु जातिमा विभिन्न किसिमका गीतवास, नाच, भेषभुषा भए पनि संरक्षणको अभावमा लोप हुँदैछन् त्यसैले हामी यो अभियान सुरु गरेका हौं,’ सांस्कृतिक कार्यक्रमका संयोजक लक्ष्मिमान चौधरीले भने, ‘अब हामी थारु कलाकार एकजुट भइसकेका छौं, थारु कलाकार पनि धेरै भइसकेका छौं, त्यसैले मौलिक संस्कृतिको संरक्षणमा हाम्रो महत्वपूर्ण भुमिका रहनेछ,’ उनले भने । सो बैठक थारु पत्रकार संघ दाङका सचिव नविन चौधरी, थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरी, प्रकाशप्रिय कुसुम्या, नविन दहित, नायिका अन्जु चौधरी भिमकान्त चौधरीलगायतले बोलेका थिए ।

त्यस्तै सो कार्यक्रमको मिडिया पार्टनर लौव अग्रासन साप्ताहिक पत्रिका रहेको छ भने सह–आयोजकको रुपमा थारु पत्रकार संघ दाङ र थारु विद्यार्थी समाज रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *