बाराका दुई थारु उम्मेदवार, जो आफ्नो क्षेत्रमा लोकप्रिय छन्

बारामा थारुका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका उमाकान्त चौधरी क्षेत्र नम्बर १ बाट उठेका छन् भने नेकपा एमालेबाट देवनारायण चौधरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ थारु बाहुल्य क्षेत्र मानिन्छ भने ४ मा थारु, मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको छ।

उमाकान्त चौधरीका प्रतिद्वन्दीका रुपमा एमालेका अच्युत मैनाली छन्। यता देवनारायणका प्रतिद्वन्द्वी राजपाका एकवाल मियाँ र नेपाली कांग्रेसका लालबाबु सिंह भुइहार छन्। थारु मतका कारण उमाकान्त चौधरीले आफ्नो दाबी गर्दै आएका छन्। क्षेत्र ४ भने मधेसी दल र कांग्रेसभन्दा बाम गठबन्धन अगाडि छ। त्यसैले पनि यी दुई थारु उम्मेदवार सो क्षेत्रमा विजय हुने आँकलन स्थानीय नेताहरुको छ।

को हुन् उमाकान्त चौधरी
वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीको जन्म बि.सं. २०२३ साल भाद्र १५ गते बाराको अमाव–३ मा भएको हो । उनका बुबाको नाम चन्द्रिकाप्रसाद चौधरी थरुनी हो। बि.सं. २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका चौधरी नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि थिए।

संविधानसभा निर्वाचन २०६४ मा बारा जिल्लाको क्षेत्र नम्वर ५ बाट १५ हजार ४ सय ८७ मत ल्याएर बिजयी भएका चौधरीका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बलवीरप्रसाद चौधरीले १४ हजार ८ सय ५७ मत प्रारेका थिए।

बि.सं. २०५६ सालको संसदीय निर्वाचनमा उमाकान्त चौधरी बारा क्षेत्र नम्वर १ बाट बिजयी भएका थिए। विभिन्न समयमा मन्त्री भएका चौधरीले पछिल्लो समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरे। त्यसअघि उनी कृषि तथा सहकारी सहायक मन्त्री भए।

को हुन् देवनारायण चौधरी
कम्युनिस्ट आन्दोलनका अगुवाका रुपमा उनले बारामा आफ्नो नाम स्थापित गरेका छन्। नेकपा एमाले बाराका उपध्यक्षसमेत रहेका चौधरी शिक्षक पेसामा आबद्ध थिए। बाराको जतपुर समिरा उपमहानगरको नगौलमा जन्मिएका उनी बकुलिया बहुमुखी क्याम्पसका अध्यक्षको रुपमासमेत जिम्मेवारी निर्वाह गरेका छन्। थारु कल्याणकारिणी सभाको नाममा त्यसक्षेत्रमा हरेक माघीमा साँस्कृतिक कार्यक्रमसमेत हुँदै आएको छ। उक्त अभियानका अगुवाई गरेका उनी सरल नेताका रुपमा चिनिन्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *