टीकापुर घटनाका आरोपितहरुको उम्मेदवारी किन ? यस्तो छ चुनावी प्रचारशैली

लखन चौधरी/धनगढी।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी दलका उम्मेदवार तथा कार्यकर्ताहरु मतदाता फकाउनमा नै केन्द्रीत भएका छन् । कोही घरदैलो, भेटघाट, भेला, भोजभटेरलगायत भोट माग्ने अस्त्र प्रयोग गरिरहेका छन् भने कोही उम्मेदवारहरु भने जेलमै कैदीबन्दीहरुबीच क्याम्पेनिङ र फोनवार्तामा जुटेका छन् ।

टीकापुर घटनाका आरोपित उम्मेदवार एंव थारु नेता लक्ष्मण थारु, विश्राम चौधरी जेलमै कैदीबन्दीबीच क्याम्पेनिङ र शुभेच्छुकहरु संग फोन वार्तालाप गर्नमा जुटेका हुन् । त्यस्तै, घटनाका फरार अभियुक्त रेशम चौधरी भने सामाजिक सञ्जाललाई भोट माग्ने अस्त्र बनाएका छन् । तथापि, राजपाका नेता तथा कार्यकर्ताहरु पनि उनीहरुलाई जिताउने अभियानमा केन्द्रीत भएको राजपा कैलालीकी उपसंयोजक सरिता चौधरीले बताइन् ।

आरोपित उम्मेदवारहरु वारेसनामामार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नेता लक्ष्मण थारु कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ र रेशम चौधरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् । भने विश्राम चौधरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यको लागि समानुपातिक उम्मेदवार बनेका छन् ।

आफ्नो चुनावी रणनीतिवारे सञ्चारकर्मीहरु संग कुराकानी गर्दै नेता लक्ष्मण थारुले भने– ‘प्रत्यक्ष रुपमा जनतामाझ जान नसक्नु दुःखद बाध्यत्मक अवस्था छ, तर आमजनतालाई थाहै छ कि, हामीलाई झुठो मुद्धामा फसाइयो भनेर, जनताहरुले हामीहरुलाई जेलमुक्त गर्नु पर्छ र पहिचानको मुद्धा स्थापित गर्नपर्छ भन्नेवारे जानकार छन् ।’

उम्मेदवारीको दुई कारण
नेता थारुले आफ्नो उम्मेदवारीको दुई कारण रहेको बताए । उनले भने– ‘पहिचानसहितको संघीयता तथा थरुहटको मुद्धा स्थापित गर्न र विकास तथा सम्पन्नताको लागि भष्टचार विरुद्ध लड्न मेरो उम्मेदवारी हो ।’

त्यस्तै उनले जीतको आधार पनि स्पष्ट रहेको उल्लेख गर्दै आफ्नो पक्षमा बड्घर, भल्मन्सा, जनयुद्धकालीन योद्धा, शोषित पीडित जनता रहेको दाबी गरे । उनले भने–‘थरुहट आन्दोलनले उठाएको मुद्धा मेरो जीतको प्रमुख आधार हो, दोस्रो कुरा ५ नम्बर निर्वाचन क्षेत्रमा ३२ हजार थारु समुदायको मतदाता, ५ हजार मधेशी, ९ हजार दलित र वर्गीय आन्दोलनका सहकर्मी रहेका छन्, उहाँहरुको सहयोग पाउनेमा ढुक्क छुु, अविर फूलमाला लिएर आउँदा हुन्छ ।’

उनले भोट माग्न जनतामाझ जान नसकेपनि आफुहरुको विचार बुझ्ने संयौं कैदीबन्दीबीच दैनिक छलफल, दैनिक रुपमा भेटघाट गर्न आउने सयौं शुभेच्छुकहरु संग भेटभाट गरिरहेको बताए । साथै फोनवार्ता मार्फत पनि भोट मागिरहेको उनले जानकारी दिए ।

कारागारमा उपलब्ध टेलिफोनमार्फत विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदाता संग भेटघाट गरिरहेको पनि उनीहरुले बताएका छन् ।

आरोपितहरुको उम्मेदवारी कानूनसम्मत हो : मुख्य निर्वाचन अधिकृत
कैलालीका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले टीकापुर घटनाका आरोपित उम्मेदवारहरुको उम्मेदवारी कानूनी रुपमा दर्ता भएको बताएका छन् । अदालतले मुद्दाको अन्तिम किनारा नलगाएसम्म अभियुक्तहरु पनि उम्मेदवार बन्न पाउने कानुनी प्रवाधान रहेको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत अर्यालले निर्वाचन लड्न पाउने प्रावधान भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाउने बताए ।

घटनाका आरोपित रेशमसहित २५ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३÷३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । ती विभिन्न मुद्धा खेपिरहेका २५ जना २ वर्षदेखि पुर्पक्षको लागि थुनामा रहेका छन् । भने रेशम चौधरी २ वर्षदेखि फरार छन् ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु कार्तिक ३ गने जेलभित्रबाटै राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका थिए । आफुहरुको लागि नजिकको मुद्धा मिल्ने मित्र शक्ति राजपा भएकोले पनि राजपामार्फत उम्मेदवारी दिएको उनीहरुको भनाई छ ।
‘एमाले र काँग्रेसकै कारण २ वर्षदेखि पुर्पक्षमै’

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष विजय गच्छदार आमजनताप्रति विस्वासघात गर्दै काँग्रेसमा प्रवेश गरेको आरोपितहरुले बताएका छन् । उनीहरुले कहिल्यै पनि आफूहरु पहिचान विरोधी पार्टीमा प्रवेश गरेका गच्छदार संग सती जान नसक्ने पनि जिकिर गरे ।
त्यस्तै नेता थारुले एमाले र काँग्रेसकै कारण झुठा मुद्धामै आफुहरुले जेल जीवन बिताउन बाध्य भएको दाबी गरे । ‘काँग्रेस र एमालेको दवाबको कारण हामी माथि लगाइएका मुद्धा अगाडी बढ्न सकेको छैन, साथै राज्यले घटनावारे तयार पारेको प्रतिवेदन आजसम्म सार्वजनिक गरेको छैन’, नेता थारुले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *