त्रिशुली बस दुर्घटना : अभिनन्द चौधरीसहित तीन जना अझै बेपत्ता

पृथ्वी राजमार्गको घाटबेंसीमा ६ दिनअघि भएको बस दुर्घटनामा बेपत्ता ३ जना यात्रु अझै फेला परेका छैनन् । घाइते भनिएका चालक सन्तोष चौधरी पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उद्धारटोलीले बस डुबेको २५ फिट गहिरो तलाउ र वरपर खोजी गरिरहेको गजुरीस्थित प्रहरी निरिक्षक वरुणबहादुर सिंहले बताए ।

टाउकोमा चोट लागेको अवस्थामा चालक चौधरी भाग्दै गरेको देखेको यात्रुहरूले बताएका छन् । सप्तरीका ३० वर्षीय अभिनन्द चौधरी, १६ वर्षीया पूजा झा र ३० वर्षीय प्रतीक झा बेपत्ता छन् ।

नागढुंगामा जाम हुने भन्दै चालकले नारायणगढबाट बस तीव्र गतिमा कुदाएका थिए । ‘मलगायत धेरै यात्रुले गति घटाउन आग्रह गर्दा पनि मानेनन्, जाम हुनुअगावै पुग्नुपर्छ भन्दै बेस्सरी दौडाए,’ घाइते मनोज ठाकुरले बताए ।

चालक चौधरीको नाम घाइते र मृतक दुवैको सूचीमा नभएपछि दुर्घटनापछि फरार भएको प्रहरीको अनुमान छ । बस्ने सीट नपाएपछि राजविराजबाट चालकसँगैको क्याबिनमा बसेर आएका श्रवण ठाकुरले आफू अगाडिको सीसा फुटेपछि बाहिर उछिट्टिएर पानीमा डुबेको बताए । उनले भने, ‘चालकको टाउकोमा चोट थियो, भाग्दै गरेको देखें ।’ दुर्घटनामा मृत्यु भएका ३१ मध्ये २९ जनाको मात्र परिचय खुलेको छ ।

परिचय नखुलेका २ यात्रुलाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रकै शवगृहमा राखिएको छ । पृथ्वी राजमार्गको ८६ किमि खण्डमा साँघुरा मोडहरू छन् । सवारीसाधनको गति जाँच गर्ने र चालकले मदिरा सेवन गरे/नगरेको नियमन गर्ने निकाय नहुँदा यसले दुर्घटनामा बढोत्तरी भएको स्थानीयको गुनासो छ । गत साउनयता मात्रै जिल्लामा ३८ दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५० जना घाइते भएको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए ।

कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *