आउनुस् स्वास्थ्यका लागि दौडिनुस् र नगद पुरस्कार जित्‍नुस्

सन्तकुमार चौधरी/चितवन।

दिनहुँ दौडिनु मानवीय स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले स्वस्थ्यका लािग सचेतना जगाउन थारु पत्रकार संघ चितवन र सिर्जनशील थारु समाजले चितवनमा पहिलो पटक रन फर हेल्थ कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ ।

४० वर्षभन्दाबढी उमेरका महिला पुरुषलाई लक्षित गरेर कार्यक्रम गर्न लागेको हो । पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएकाले सुरुमा खैरहनी नगरपालिका स्तरीय हुने थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले जानकारी दिए । उनका अनुसार विस्तारै कार्यक्रमलाई जिल्ला स्तरीय बनाइने छ ।

रन फर हेल्थ कार्यक्रममा एक किसिमको दौड प्रतियोगिता हो । दौडमा सहभागी भएकाहरुलाई नगदसहित पुरस्कार समेत प्रदान गरिनेछ । कार्यक्रमका लागि एनआरएनए स्वीडेनका सचिव राजकुमार पाठक र जिटिए अमेरिकाका सञ्चालक रामशरण चौधरीले पुरस्कारका लागि सहयोग गर्दैछन् । उनीहरुकै सुझाव अनुसार कार्यक्रम आयोजना गर्न लागिएको सिर्जनशील थारु समाजका उपाध्यक्ष हरिकुमार चौधरीले बतए ।

आयोजकका अनुसार यो खालको प्रतियोगीता चितवनमै पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगितामा सहभागी भएकाहरुमध्ये पहिलो हुनेलाई नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद १० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ । महिला प्रतियोगीहरुलाई पनि सोही अनुपातमा पुरस्कार प्रदान गरिने छ । पुरस्कार रकम भने आगामि वर्षहरुमा वृद्धि गर्दै लगिने छ । प्रतियोगितामा पुरुषहरुले कम्तिमा ५ किलोमिटर र महिलाहरुले ३ किलोमिटर दौड पूरा गर्नुपर्ने छ । दौडमा सहभागी हुन चाहने पुरुष वा महिलाहरुले व्यक्तिगत विवरण सहितको एउटा फर्म भर्नुपर्नेछ । फर्मसँग भोटर कार्डको फोटोकपी संलग्न गर्नुपर्नेछ । यसवर्षको अन्तिम दौड माघ ४ गते बिहान ९ बजे हुने आयोजकले जानकारी दिएको छ ।

यही कात्तिक ४ गते सिर्जनशील थारु समाज र बहेरा साउण्ड सिस्टमले आयोजना गर्न लागेको तिहार विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन सत्रमा रन फर हेल्थ २०७४ कार्यक्रम सुरु भएको घोषणा हुँदैछ । कार्यक्रम घोषणा भएलगतै कार्यक्रमका सहभागी हुन इच्छुकहरुको नाम दर्ताको प्रकृया सुरु हुने आयोजकले बताएको छ ।

कात्तिक ४ गतेदेखि माघ ४ गते बीचको तीन महिनाको अवधि दौडको अभ्यास समय अवधि हुनेछ । कार्यक्रममा सहभागी हुन चाहनेले हरेक बिहान दौडिने अभ्यास आफैँले गर्नुपर्नेछ । यसरी दैनिक रुपमा दौडको अभ्यास गरिरहँदा उनीहरुको स्वस्थ्यलाई फाइदा पुग्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमका सहभागीता जनाउन चितवनको खैरहनी नगरपालिका क्षेत्रका ४० वर्ष भन्दा माथि उमेरका सबै जातजातिका महिला र पुरुषलाई आयोजकले आग्रह समेत गरेको छ ।

यसअघि साउदी अरेवियामा काम गर्न गएका हरेराम महतोको दुवै मृगौला फेल भएपछि उनको स्वास्थ्य उपचारका लागि हरेराम बचाउ अभियान सुरु गरेर सिर्जनशील थारु समाजले मानवीय सेवामा क्रियाशीलता देखाइसकेको छ




Leave a Reply

Your email address will not be published. Required fields are marked *