थारु पत्रकार संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन, भाषा, संस्कृति संरक्षण गर्न जोड

सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)।

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषा तथा संस्कृति संरक्षणमा थारु पत्रकारहरुले ठोस कदम चाल्नुपर्ने बताएका छन्। पछिल्लो समय थारुहरुको पहिचान हराउँदै गएको औल्याउँदै उनले थारुहरुको जातीय तथा ऐतिहासिक पहिचान जोगाउन थारु पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए।

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको गजेहडामा सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सर्वहारीले थारु समुदाय अझै पनि पत्रकारिता पेसामा टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले यसप्रति जागरुक र धैर्य भएर लागेमा सफलता हात पार्न सकिने तर्क राखे।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सर्वहारीले थारु पत्रकार संघ विशुद्ध थारु पत्रकारहरुको छाता संगठन रहेको बताउँदै पत्रकारहरुको पेशागत ग्यारेन्टीका लागि निर्वाचित थारु जनप्रतिनिधिहरुले सहयोग पुर्याउन जिकिर गरे।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले संघलाई बचाइराख्न आफूले भौतिक, नैतिक हिसाबले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे। नगरप्रमुख थारुले योजनाका साथ कार्यालयमा आउन समेत थारु पत्रकार संघलाई अनुरोध गरे।

त्यस्तै शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले पत्रकारिता पेसाले व्यक्तिको व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्याउने बताइन्। आफ्नो पहिलो खुडकिलो पत्रकारिता क्षेत्र रहेको औल्याउँदै उनले पत्रकारहरुको हकअधिकारका लागि आफू सधैं सकारात्मक रहेको उद्घोष गरिन्।

कार्यक्रममा थारु जनकवि बमबहादुर थारु, थारु अगुवा एवं बुद्धिजिवी नागेन्द्र रौतार, थारु संस्कृति संरक्षण परिवार कपिलबस्तुका सचिव द्वारिका थारु, आदिवासी जनजाति पत्रकार महासंघ कपिलवस्तुका सचिव मीना राना, महिला शक्ति विकास केन्द्र नेपालकी कोरलिडर सावित्रा थारु लगायतले नयाँ समिति सक्षम, क्रियाशिल र जुझारु हुनुपर्नेमा जोड दिएका थिए।

थारु पत्रकार संघ कपिलवस्तुमा नयाँ नेतृत्व चयन

यसैबीच थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको वाणगंगा नगरपालिका गजेहडास्थित बिपी स्मृति भवनमा सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले श्याम बहादुर थारु अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा रञ्जना रौतार, सचिवमा सरिता थारु, सहसचिवमा द्वारिका प्रसाद थारु र कोषाध्यक्षमा सीमा थारुलाई अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै थारु पत्रकार संघको जिल्ला कार्यसमिति सदस्यहरुमा सृजना थारु, रमेश थारु, रामऔतार थारु र पुष्पा थारु चयन भएको बताइएको छ ।

संघको नयाँ नेतृत्व चयनसँगै बसेको पहिलो बैठकले थारु पत्रकार संघ नेपालको आगामी कार्तिक १८ गते हुने केन्द्रिय महाधिवेशका लागि प्रतिनिधि छनौट गरेको छ । संघका जिल्ला अध्यक्ष श्याम सि.टी, सल्लाहकार सिताराम चौधरी र सचिव सरिता थारुलाई जिल्लाबाट प्रतिनिधि पठाउने निर्णय गरेको बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *