बाघको आक्रमणबाट चितवनमा एलु चौधरीको मृत्यु

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए ।

उनका अनुसार बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान जोगाएका थिए । सो घटनापछि सम्पर्कविहीन भएका दुई महिला केहीबेरअघि सम्पर्कमा आएको अध्यक्ष पाठकले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी आएपछि अहिले हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाइएको जानकारी दिए ।

निकुञ्जले जंगलमा निउरो टिप्दा मानवीय जोखिम हुने भएकाले मध्यवर्ती क्षेत्रमा समेत नजान भने पनि स्थानीय समुदायको जीविकोपार्जनका लागि निउरो टिप्न जाने क्रम रोकिएको छैन ।

उक्त निकुञ्जका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *