अस्पतालको लापरबाही, इन्जेक्सन दिएलगत्तै विरामीको मृत्यु

कारी महतो/चितवन।
सामान्य ढाड दुखेको भनेर भरतपुर स्थित नारायणी सामुदायिक हस्पिटलमा भर्ना भएका विरामीलाई इन्जेक्सन दिए लगत्तै मृत्यु भएको छ। मृत्यु हुने विरामी भरतपुर महानगरपालिका वडा नं. २६, सिसईका अन्दाजी ५० वर्षीय लक्ष्मण चौधरी हुन्।

एकदिन अगाडि बेलुका ८ बजेतिर इमरजेन्सीमा स्वास्थ्य परीक्षणपछि मेडिकल वार्डमा भर्ना भएका विरामीलाई हिजो दिउँसो १२ः३० बजेतिर इन्जेक्सन दिएको थियो। इन्जेक्सन दिएको पाँच मिनेट भित्रै उनको स्वास्थ्य स्थिति झन नाजुक भएपछि तुरुन्तै आइसियु कक्षमा लगिएको थियो। आइसियुमा लैजादै गर्दा विरामीको मृत्यु भएको हो।

इन्जेक्सन दिए लगत्तै विरामीले मुखबाट फिंज निकाल्न थालेको कुरा विरामीका ३२ वर्षीय छोरा सुनिल चौधरीले बताए। आफन्तहरुले विरामीलाई गलत औषधी दिएको भनेर आरोप लगाएका थिए। औषधीको खोल माग्दा अस्पतालले नदिएपछि आफन्तले शव उठाएका थिएनन्।

अस्पतालको कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले विरामीको मृत्यु औषधीले नभई हर्ट एट्याकबाट भएको भनेर स्पष्टीकरण दिएका छन्। डाक्टरको स्पष्टीकरणपछि आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *