थाकस चितवनमा आन्तरिक किचलो, क्षेत्र विभाजनप्रति असहमति

कारी महतो/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला कार्यसमितिले क्षेत्र विभाजन गरी भरतपुर महानगरपालिकालाई पाँच वटा क्षेत्रमा तथा अन्य नगरपालिकाहरुलाई एकएक क्षेत्रमा विभाजन गर्ने निर्णयप्रति पूर्व चितवनका खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिका अन्तर्गतका क्षेत्रीय समितिले असहमति जनाउँदै संयुक्त रुपमा हस्ताक्षर गरी असहमति पत्र पेस गरेका छन् ।

थाकस चितवन क्षेत्र नं. ६ का सभापति वसन्त चौधरी, क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतो, क्षेत्र नं. ८ का सभापति रामेश्वर चौधरी र क्षेत्र नं. ९ का सभापति कमानसिंह चौधरी चारैजनाद्वारा हस्ताक्षर गरिएको असहमति पत्रमा लेखिएको छ– “क्षेत्र निर्धारण गरिएको उक्त कार्य थारुको जनसंख्यागत, भौगोलिक र राज्यको प्रशासनिक÷स्थानिय तह हरेक हिसाबले अव्यवहारिक, अवैज्ञानिक, अन्यायपूर्ण र विभेदपूर्ण भएकोले सो निर्णयलाई तत्काल सच्याई आमभेलामार्फत वैज्ञानिक र व्यवहारिक रुपमा क्षेत्र निर्धारण गर्न जोडदार माग गर्दछौं ।”

असहमति पत्र मार्फत सबै क्षेत्रीय सभापति, बुद्धिजिवी, सल्लाहकार र जिल्ला कार्यसमिति लगायतको संयुक्त आमभेलाबाट नयाँ क्षेत्र निर्धारण हुनुपर्ने माग गरिएको छ ।

थाकस चितवनले चितवन जिल्लालाई आफ्नै तरिकाले ९ क्षेत्रमा विभाजन गरी कार्य गरिरहेको थियो । पछि एक क्षेत्र थप गरी १० क्षेत्र बनाइएको हो । नेपाल सरकारले चितवनको गाविसहरु गाभेर नगरपालिकामा रुपान्तर गरेपछि थाकस जिल्ला कार्यसमितिले नयाँ बनेको नगरपालिकामा पर्ने क्षेत्रीय समितिलाई नगरसमिति बनाउने निर्णय गरेको थियो र दुई नगरपालिकालाई मिलाएर एउटा क्षेत्र कायम गर्ने निर्णय गरेको थियो । त्यस निर्णय जम्मा अनुसार ४ वटा क्षेत्र कायम गरिएको परिपत्र पनि जारी समेत गरेको थियो ।

तर पछि पुनः पश्चिम चितवनको नारायणी नगरपालिका, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिका गाभिएर भरतपुर महानगरपालिका बनेपछि थाकस चितवनले महानगरमा पाँच क्षेत्र र माडी नगरपालिकालाई एक क्षेत्र र पूर्वीचितवनका चार नगरपालिकालाई चार क्षेत्र गरी जम्मा १० क्षेत्र बनाउने निर्णय गरी पत्राचार गरेपछि उक्त निर्णयप्रति पूर्वीचितवनका चार नगरपालिकाका थारुहरुबाट असहमति जनाइएको हो । थाकस क्षेत्र नं. ९ का सभापति कमानसिंह चौधरीले जनसंख्याको आधारमा समानुपातिक रुपमा क्षेत्र निर्धारण गर्नुपर्ने, अन्यथा जिल्लाको निर्णय अमान्य हुने बताए । थाकस क्षेत्र नं. ८ का सभापनि रामेश्वर चौधरीले आफूहरुले संयुक्त रुपमा माग राखेको विषयले जिल्लाले सम्बोधन नगरेसम्म क्षेत्रीय अधिवेशन हुन नसक्ने र जिल्ला अधिवेशन पनि हुन नसक्ने जनाएका छन् ।

हालः चितवनमा एक महानगरपालिका र पाँच नगरपालिका र एक गाउँपालिका छ । थाकसका असन्तुष्ट पक्षले सोहि संरचना अनुसार थाकसको क्षेत्र निर्धारण गर्नु पर्ने राय व्यक्त गरेका छन् । पूर्वचितवनका चार नगरपालिकाको थारुको जनसंख्या जोड्दा ३६,४४८ हुने तर भरतपुर महानगरपलिकामा थारुको जनसंख्या १६,९१९ मात्र रहेकोले जिल्ला अधिवेशनमा अधिक प्रतिनिधी सहभागी गराउने तरिकाले भरतपुर महानगरमा पाँचवटा क्षेत्र कायम गरेको पूर्वीचितवनका बुद्धिजीवीहरुले अनुमान गरेका छन् ।

थाकस चितवनका जिल्ला सभापति विश्राम महतोले वर्तमान जिल्लासमितिले क्षेत्रको संख्या घटबढ नगरेको दाबी गरेका छन् । टिकेन्द्र चौधरी सभापति भएकै कार्यकालमा १० वटा क्षेत्र रहेको थाकस चितवनमा अहिले पनि १० वटै क्षेत्र रहेको वर्तमान जिल्ला सभापति विश्रामले जनाए । “गाविसहरु मिसाएर नगरपालिका बनाइएपछि क्षेत्रमा काम गर्न सजिलो होस् भनेर साविक बछौली गाविसलाई त्यहाँ साथीहरुको आग्रह अनुसार क्षेत्र नं. ७ बाट निकालेर क्षेत्र नं. १० मा समायोजन गरिएको मात्र हो,’ विश्रामले बताए ।

थाकसको विधानमा जिल्लासभाले आवश्यकता अनुसार क्षेत्र विभाजन गर्न सक्ने कुरा उल्लेख छ । क्षेत्रीय समितिले गाउँ÷नगर समिति र जिल्ला समिति बीचमा पुलको काम गर्ने भनी उल्लेख गरिएको छ । क्षेत्रीय समितिलाई भोटिङ अधिकार र जिल्लासभामा भाग लिने अधिकार समेत किटान गरिएको छैन । जिल्ला सभामा भाग लिनका लागि गाउँ÷नगर समितिमै रहेको हुनुपर्ने प्रावधान छ । थाकस चितवनले विधानको उक्त प्रावधानलाई मिचेर एक पुरक नियम बनाई अधिवेशन गर्दै आएको छ । जिल्ला सभापति विश्राम महतो भन्छन् “यो पूरक नियम टिकेन्द्र चौधरी सभापति रहेकै बेलामा बनाइएको नियम हो । अघिल्लो कार्यसमितिले बनाएको नियम हामीले काट्न नसकेर त्यहि नियम अनुसार अभ्यास गर्दै आएका मात्र हौं ।”

जानकारहरु प्रश्नचिन्ह खडा गर्छन्– “पूरक नियम बनाउने अधिकार केन्द्रीय सभाको हो । केन्द्रले बनाएको नियम अनुसार जिल्ला र गाउँ÷नगर सभा चल्ने हो । केन्द्रले तय गरेको नियमहरु विधानमा प्रष्ट लेखिएको छ । विधानमा कुनै असहमति भए संशोधन हुनुपर्छ । तर विधान अनुसार काम कारबाही गर्नुपर्छ । विधान अनुसार काम नहुने भए के का लागि विधान ?”




Leave a Reply

Your email address will not be published. Required fields are marked *