ब्रिजेश चौधरीको गोलले नेपाल र भारत बराबरी

स्ट्राइकर ब्रिजेश चौधरीले अन्तिम समयमा गरेको गोलमा नेपाल यु–१६ टोलीले शुक्रबार भारतलाई २–२ को बराबरीमा रोकेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा बराबरी खेलेसँगै नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको अन्तिम चरण प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

समूह ‘डी’ का दुई खेल सकिँदा शतप्रतिशत नतिजा निकालेको इराक ६ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा ४ अंक जोडेको भारत दोस्रो र नेपाल १ अंकका साथ तेस्रो स्थानमा छन् । अंकविहीन प्यालेस्टाइन पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग खेल्नेछ भने भारतले शीर्ष टोली इराकसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्यालेस्टाइनलाई राम्रो गोलअन्तरमा हराउने र इराकले भारतलाई पराजित गरेमा नेपाल उत्कृष्ट उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गर्ने सम्भावनाा जीवित रहन्छ ।

एसियाका ४५ राष्ट्रले विभिन्न १० समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्र्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसियासँगै सन् २०१८ को सेप्टेम्बर २० देखि अक्टोबर ७ सम्म हुने एएफसी यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका लागि दुवै गोल ब्रिजेशले गरे । भारतका लागि पनि दुवै गोल हरप्रीत रुलवीरले गरेका थिए । खेलपछि नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले बलियो चुनौती पेस गर्नाका बावजुद पनि सुखद नतिजा ल्याउन नसकेको बताए । ‘जित्नुपर्ने खेल थियो । तर, दुर्भाग्य हामी बराबरीमा रोकियौं,’ नेपालका प्रशिक्षक श्रेष्ठले थपे, ‘अग्रता लिएको अवस्थामा पनि खेलाडी अत्तालिए । फलस्वरूप भारतले पुनरागमन ग¥यो । त्यो नै खेलको टर्निङ प्वाइन्ट बनिदियो ।’
७६औं मिनेटमा ब्रिजेशले गरेको गोलमा नेपालले अग्रता लियो । उनले रक्षक दीपक भण्डाराको पासमा डी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

वैकल्पिक खेलाडी हरप्रीतले ८३औं मिनेटमा बराबरी गोल फर्काए । नेपालका गोलकिपर विशाल सुनार आफ्नो पोजिसनमा नरहेको मौका छौप्दै हरप्रीतले करिब ४० यार्ड टाढाबाट हानेको प्रहार गोल भएको थियो । हरप्रीत ७८औं मिनेटमा मिडफिल्डर रविबहादुर रानाको स्थानमा मैदान छिरेका थिए ।

पहिलो गोल गरेको दुई मिनेट बित्न नपाउँदै हरप्रीतले अग्रता दोब्बर पारे । रक्षक लारिकोमाले दिएको पासलाई कसैको निगरानीमा नरहेका हरप्रीतले जाली चुमाएमा थिए । तर, भारतको अग्रता धेरै समय टिक्न सकेन । खेल सकिन २ मिनेट बाँकी रहँदा ब्रिजेशले बराबरी गोल फर्काए । भारतीय रक्षकलाई छलाउँदै अघि बढेका ब्रिजेशले दायाँ भागबाट ‘सेकेन्ड बार’ च्याप्दै उत्कृष्ट गोल गरे । जसलाई भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले विश्वस्तरिय गोल भनेर प्रसंशा गरे ।

‘नेपालविरुद्ध खेल्न कठिन हुने अनुमान गरेका थियौं । तर, सोचेभन्दा उत्कृष्ट रह्यो,’ भारतका प्रशिक्षक फर्नान्डेजले थपे, ‘हामीले पहिलो हाफमा पाएका केही सुनौलो अवसर खेर फाल्दा अग्रता लिने मौका गुमायौं । १–० ले पछि परेको अवस्थामा हामी उत्कृष्ट पुनरागमन गर्दै तीन अंकको नजिक पुगेका थियौं । तर, ब्रिजेशको विश्वस्तरीय गोलले हामी अंक बाँड्न बाध्य भयौं ।’

तस्बिर : प्रबिन कोइराला




Leave a Reply

Your email address will not be published. Required fields are marked *