कैलालीमा फेरि थरुहट आन्दोलनको उद्‍घोष

धनगढी- कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले विगतमा भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलनमा जाने निर्णय गरेको छ। ११ सुत्रीय अधिकारपत्र घोषणा गर्दै आइतबार सम्पन्न सम्मेलनले अधिकार प्राप्तीको माग पूरा गराउन आन्दोलनको आवश्यकता रहेको ठहर गरेको हो।

आन्दोलनलाई अगाडि बढाउनका लागि सम्मेलनमार्फत् श्रवण थारुको संयोजकत्वमा संयुक्त थारु राष्ट्रिय मोर्चासमेत गठन गरिएको छ। सम्मेलनबाट राजनीतिक सबाल, सामाजिक सबाल, साँस्कृतिक सबाल, जनजीविकाका सबालहरु उठाइएको छ। ती सबालहरु सम्बोधनका लागि सरकारलाई ज्ञापनपत्र बुझाउने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

सम्मेलनमा गम्भीर छलफल पश्चात आन्दोलनमा जाने निर्णय सबैको साझा एजेण्डा बनेको र आन्दोलनको उद्घोष केही दिनभित्रै गर्ने सम्मेलन तयारी समितिका संयोजक सीएन थारुले बताए। उनले संविधानप्रतिको असहमति जारी राख्दै अब हुने प्रदेश तथा केन्द्रको निर्वाचनमा भाग नलिनका लागि मोर्चाले अभियान चलाउने बताए।

‘हाम्रो माग मुद्दा सम्बोधन नभएको अवस्थामा मोर्चा आफैँ चुनावमा भाग लिँदैन,’ उनले भने, ‘यसको साथै थरुहट आन्दोलनका पक्षधर घटकहरुलाई पनि चुनावमा भाग नलिनका लागि अभियान चलाउनेछ।’ विगतमा राजनीतिक आन्दोलन राजनीति गर्ने व्यक्तिहरुको लागि मात्रै भएको ठहर गर्दै सम्मेलनले अब जनताका लागि आन्दोलन गर्ने निष्कर्ष निकालेको छ।

प्रादेशिक र प्रतिनिधि चुनाव हुनुपूर्व विगतमा भएका सम्झौता कार्यान्वयन नभएमा निरन्तर आन्दोलन गर्ने सम्मेलनमा सहभागी नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले बताए। उनले आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गर्दै राज्यको व्यवहारअनुसार आन्दोलनको स्वरुप परिवर्तन गरिने जनाए।

‘राज्यले जसरी व्यवहार गर्छ, त्यसरी नै आन्दोलनको स्वरुप पनि परिवर्तन गर्नेछौं,’ उनले भने, ‘तर, सुरुमा हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ।’
अब हुने आन्दोलन विगतमा भएको सम्झौता कार्यान्वयनका लागि गर्ने सम्मेलनमा ठहर गरिएको छ। ‘चुनाव भए पनि नभए पनि हाम्रो आन्दोलन अब पहिले भएको सम्झौता कार्यन्वयनका लागि हुनेछ,’ थारुले अगाडि भने, ‘सम्झौताको लागि होइन।’

माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने निष्कर्ष निकालिएको छ। आन्दोलनसँगै टीकापुर घटनाको आरोपमा बन्दी जीवन बिताइरहेकाहरुको रिहाईको आवाज पनि उठाउने जनाइएको छ।

पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका थरुहट आन्दोलनकारीहरु अटाउने गरी दबाब समूहको रुपमा गठित संयुक्त थारु राष्ट्रिय मोर्चाले विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि निरन्तर दबाब दिने मोर्चाका संयोजक श्रवण थारुले बताए।

उनले आन्दोलनका लागि मोर्चाले सबै जिल्लामा अभियान चलाउने बताए। दुई दिनसम्म भएको सम्मेलनमा पूर्व झापादेखि कञ्चनपुरसम्मका थरुहट आन्दोलनको नेतृत्वकर्ता, बुद्धिजीबी, राजनीतिज्ञलगायतको सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *