थाकस केन्द्रद्वारा सन्जीतलाई सहयोग गर्ने औपचारिक निर्णय

कारी महतो/चितवन
१२ भदौ, थरुहट आन्दोलन २०६५ का घाइते सन्जीत महतोलाई थारु कल्याणकारिणी सभा (थाकस) ले सहयोग गर्ने भएको छ। थाकस केन्द्रीय सचिवालय समितिको गत शनिबार भएको बैठकले उक्त निर्णय गरेको कुरा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले बताए।

उक्त बैठकले थाकस मातहतका सबै जिल्ला शाखा, भातृसंगठन, विदेश शाखा सबैलाई आर्थिक सहयोग गर्न आह्वान गर्ने र पत्राचार गर्ने समेत निर्णय गरिएको साथै विभिन्न व्यक्ति, संघसंस्थाहरुलाई समेत सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको लेखीले बताए। थाकस केन्द्रको तर्फबाट तत्काल केहि नगद सहयोग गर्ने समेत निर्णय गरिएको लेखीले जानकारी दिएका छन्।

चितवनको थाकस खैरहनी नगर क्षेत्रीय समितिका सभापति नारायण प्रसाद महतोले पनि सन्जीतलाई संस्थागत आर्थिक सहयोग गर्ने बताएका छन्। के कति सहयोग गर्ने बारे १३ गते बस्ने बैठकले निर्णय गर्ने क्षेत्रीय सभापतिले बताएका छन्।
२०६५ सालमा भएको थरुहट आन्दोलनको क्रममा घाइते भई बिएनबि अस्पताल काठमाडौंमा केही महिना निःशुल्क उपचार गराएका सन्जीत महतो थप उपचारका लागि काठमाडौंसम्म जाने आउने भाडा खर्चको अभावमा नियमित फलोअप उपचार गराउन असमर्थ भएपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो। विभिन्न माध्यमबाट समाचार प्रकाशन र प्रसारण भएपछि चितवन भरतपुरका एलाइभ अस्पतालका डा. प्रमोद लामिछानेले सन्जीतको उपचार पूर्ण रुपमा निःशुल्क गरिदिने बताएपछि पत्रकार सन्त कुमार चौधरीको संयोजकत्वमा सन्जीत महतो उपचार समिति गठन गरी निर्णयअनुसार एलाइभ अस्पतालमा भर्ना गरी विगत २२ दिनदेखि सन्जीतको उपचार हुँदै आएको छ।

गत बिहीबार दोस्रो चरणको सफल शल्यक्रियापछि हिजो आइतबार सन्जीतलाई अस्पतालबाट डिस्चार्ज गरी घरमै आराम गराउने भनिएको भएता पनि स्टील रड निकालिएको ठाउँको घाउ निको नभएकोले थप केहि दिनको लागि अस्पतालमै राखिने सल्लाह भएको छ। २०६५ सालमा दायाँ तिघ्रामा गोली लाग्दा टुक्राटुक्रा भएकोे हड्डी जोड्नका लागि स्टील रड राखिएको थियो। हड्डी राम्रैसँग जोडिएको भएपनि खुट्टा खुम्चिएर चलाउन नसकिने भएपछि अहिले खुट्टा साझो बनाई रड निकालेर खुट्टाको पुरै भागमा प्लाष्टर गरिएको छ। डाक्टर प्रमोद लामिछानेका अनुसार एक डेढ महिनापछि प्लाष्टर खोले पछि बैशाखी र अन्य कुनै सहारा बिना नै उभिन सक्ने र आफ्नो दैनिक काम गर्न सक्ने हुनेछ। तर एउटा खुट्टा छोटो हुने भएकोले खोच्याउदै हिड्नु पर्ने हुन्छ। छोटो खुट्टाको लम्बाई बढाउनका लागि अर्को शल्यक्रिया गरी तन्काउनु पर्छ तर त्यसको लागि एक वर्षभन्दा बढी समय लाग्न सक्छ।

सन्जीत महतोको दिर्घकालीन आर्थिक व्यवस्थापनका लागि स्थापना गरिएको सन्जीत महतो राहत कोषमा पनि आर्थिक संकलन आउने क्रम जारी छ। कोष वृद्धिका लागि थारु भाषाको फिल्म भौंराको च्यारिटि शो गर्ने तयारी भईरहेको जानकारी कोषका संयोजक शरदकुमार महतोले जानकारी दिए।

सन्जीत महतोका छोरा जेम्स चौधरीलाई १२ कक्षासम्मको सम्पूर्ण पढाइ खर्च व्यवस्थापन खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको कालिका मोटरसाइकल पार्टस् तथा यामाहा शोरुमले सहयोग गर्ने भएको छ। शोरुमका सञ्चालक उत्तम अधिकारीले अहिले पनि पढाईबाट वञ्चित भएको बालबालिकाहरुको पढाईका लागि विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन्। जेम्स चौधरीलाई आवश्यक पर्ने स्टेशनरीदेखि साइकलसम्म खरीद गरेर दिने कुरा उत्तम अधिकारीलाई उद्धृत गर्दै कोषका संयोजक शरदकुमार महतोले बताए। हाल जेम्स चौधरी सौराहा स्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *