हरेराम बचाउ अभियानमा दक्षिण कोरियाबाट ८० हजार सहयोग

चितवन। थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले किड्नी पीडित हरेराम महतोलाई ८० हजार सहयोग पठाएको छ  हरेराम महतो बचाऊ अभियानलाई आएको सहयोगमध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो। यसअघि अमेरिकाबाट सरिता कँडेल र जीवन न्यौपानेले संकलन गरी ७५ हजार पठाएका थिए।
हरेराम महतोको विषयमा जानकारी पाएपछि दक्षिण कोरियास्थित थारु कल्याणकारिणी सभाले चितवन सम्पर्क समितिसँग सहकार्य गरी आर्थिक सहयोग संकलन सुरु गरेका थिए। उक्त अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएका खैरहनी नपा–८, मगनी, चितवनका विनोद चौधरीका अनुसार हरेराम महतो बचाऊ अभियानका लागि कोरियामा कार्यरत ४८ जना नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।

रत्ननगर–७, मैनाहा घर भई हाल दक्षिण कोरियामा कार्यरत थाकस दक्षिण कोरियाका उपाध्यक्ष शिव चौधरीका अनुसार थाकस दक्षिण कोरियाले दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको र संगठन मार्फत आफूहरुले आर्जन गरेको केहि अंश समाजसेवामा लगाउने गरेको बताए।

हालै नेपालको तराई क्षेत्रमा गएको भिषण बाढीबाट पीडित नेपालीहरुलाई सहयोग गर्नका लागि थाकस दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले राहत वितरणका लागि सहयोग संकलन गरिरहेको उपाध्यक्ष शिव चौधरीले टेलिफोन मार्फत जानकारी दिए।
हरेरामलाई सहयोग गर्ने अर्को संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक अभावका कारणले पढाईबाट वञ्चित भएका बालबालिकाहरुलाई पनि विभिन्न दर्जनौं स्कुलका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सम्पूर्ण खर्च व्योहोर्ने गरी चितवन सम्पर्क समिति दक्षिण कोरियाले असहाय बालबालिका सहयोग अभियानमार्फत दश लाखको अक्षय कोष खडा गरी २३ जनालाई पढाइरहेका छन्।

कोरियाबाट फर्केका र कोरियामै रहेका केही साथीहरु मिलेर चितवनमा कोरिया पुनर्मिलन ३०० बंगुर पालन कार्यक्रम गरेको कुरा चितवन सम्पर्क समिति दक्षिण कोरियाका सचिव सुलभबन्धु पोखरेलले जानकारी दिए। यसका साथै विभिन्न समयमा प्राकृतिक प्रकोपमा परेका पिडितहरुलाई पनि राहत उपलब्ध गराउँदै आएको कुरा सचिव पोखरेलले बताए।

वैदेशिक रोजगारको क्रममा साउदी अरेयिबा पुगेका चितवनको खैरहनी नगरपालिका वडा नं. १, बहेराका हरेराम महतोको अचानक दुवै मृगौला काम नलाग्ने भएपछि ऊ घर फर्केका थिए। कम्पनीले कुनै सहयोग नगरेपछि साथीहरु मिलेर टिकट काट्ने व्यवस्था मिलाएका थिए। नेपाल फर्केपछि उनलाई औषधी उपचार गर्न आर्थिक समस्या परेको थियो। उनको विषयमा अनलाइनहरुमा समाचार प्रकाशन भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्न थालेका छन्। प्राप्त भएको आर्थिक सहयोगलाई व्यवस्थापन गर्न सिर्जनशील थारु समाजले “हरेराम महतो बचाऊ अभियान” नै चलाएका छन्।

३५ वर्षीय हरेराम महतोको पारिवारिक सम्पत्तिको नाममा ५ धुर घडेरीमा जस्ताले छाएको दुई कोठे घरमात्र छ। चलअचल कुनै पनि सम्पत्ति नभएकोले पैसाकै अभावमा उपचार रोकिने डर भएकाले त्यसका लागि दानवीरहरुबाट थोरैथोरै सहयोग जुटाउनुका साथै त्यो रकमको सही सदुपयोगका निम्ति सम्बन्धित विरामी समक्ष पुर्याउनका लागि व्यवस्थित अभियान संचालन गर्नु परेको कुरा अभियान सञ्चालक संस्था सिर्जनशील थारु समाज चितवनका अध्यक्ष कारी महतोले जानकारी दिएका छन्। उनी थारु पत्रकार संघ चितवन शाखाका अध्यक्ष पनि हुन्। अभियानलाई व्यवस्थित गर्नका लागि सिर्जनशील थारु समाजका उपाध्यक्ष हरि कुमार चौधरीको संयोजकत्वमा एक समिति गठन गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *