यु-१५ मा चम्किँदै ब्रिजेश चौधरी, माल्दिभ्सविरुद्ध बिज्रेशको दुई गोल

नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र रोशन दोङले समान एक गोल गरे। नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले ठूलो अन्तरको जित हात पार्ने टोलीको रणनीतिले गर्दा खेलाडीहरू दबाबमा परेको बताए।

‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकाले खेलाडीहरू केही उत्साही भए,’ श्रेष्ठले भने, ‘माल्दिभ्सलाई ठूलो अन्तरमा पराजित गर्ने र भारतसँग बराबरी गर्दै समूह विजेताका रूपमा सेमिफाइलनमा प्रवेश गर्ने टोलीको रणनीति थियो। त्यसैले ठूलो अन्तरको जितका लागि हामीले सुरुबाटै आक्रामक खेल्यौं। धेरैभन्दा धेेरै गोल गर्ने रणनीतिका कारण खेलाडी दबाबमा थिए।’ समूहचरणमा भारतले माल्दिभ्सलाई नौ गोलले पराजित गरेपछि नेपाल पनि फराकिले जित हात पार्ने लक्ष्यमा थियो।

श्रेष्ठले माल्दिभ्सभन्दा भारत बलियो टोली भएको र उनीहरुविरुद्धको खेलपछि मात्र नेपालको स्तर थाहा हुने बताए। ‘आज हामीले रक्षापंक्तिमा खासै ध्यान दिएनौं। भारतविरुद्ध हामी रक्षापंक्तिमा विशेष ध्यान दिनेछौं,’ उनले भने।

पहिलो पटक भैरहेको यु–१५ साफ च्याम्पियनसिपको समूह ‘बी’ को विजेता नेपाल र भारतबीचको खेलको नतिजाले घोषणा गर्नेछ। नेपाल र भारतले बुधबार खेल्नेछन्।

तस्बिर : विजय गजमेर/नागरिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *