‘मुद्दा स्थापित गर्न थारु पत्रकारको भूमिका महत्वपूर्ण’

थारु पत्रकार संघ बाँकेले नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनिधिलाई बधाई कार्यक्रम गरेको छ। तिजको अवसरमा दर खाने कार्यक्रम गरेजस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अट्वारी पर्वको अवसरमा संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो।

संघ बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारुले थारुको मुद्दा पहिचानका लागि थारु पत्रकारको भूमिका महत्वपूर्ण रहेकोले स्थानीय तहमा भइरहेका हरेक गतिविधिलाई समाचारको रुपमा बाहिर ल्याइदिन आग्रह गरे।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले एक अर्काको संस्कृतीलाई सम्मान गर्न सकेमात्र समाजको बिकास हुने बताए। नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रय सदस्य पूर्ण थारुले थारुहरुको धर्म संस्कृतिलाई अव दस्ताबेजीकरण गर्नुपर्नेमा जोड दिए।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पछिल्लो अवस्थामा थारुहरुले पनि तिजलगायतका अन्य पर्व मनाउादै आएकोले साँच्चिकै लोकतन्त्रको आभास भएको उल्लेख गरे। हरेक वर्षझै यस वर्ष पनि संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो।

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा गरिएको कार्यक्रममा स्थानिय तहमा निर्वाचित थारु जनप्रतिनिधिलाई टीका र दोसल्ला लगाएर बधाई ज्ञापन गरिएको संघका सचिव भगतराम थारुले जानकारी दिए। साथै कार्याक्रममा कृष्ण जन्माष्टमीमा थारुहरुले पूजा गर्ने तरिकाबारे थारु युवतीहरुले आफ्नै भेषभूशामा सजिएर बिधिवत रुपमा पूजा गरेर देखाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *