फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत
![फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत](https://www.tharuwan.com/wp-content/uploads/2017/08/phoolman-chaudhary.jpg)
राम दहित/भारत
संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ। भारतको झारखण्डमा आयोजना हुने दशौं विश्व आदिवासी दिवसको सभालाई सम्बोधन गर्न आइपुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरुको बाहुल्यता रहेको बस्तीका स्थानीयहरुले चौधरीलाई भब्य स्वागत गरेका हुन्।
गत आइतबार रायपुर आइपुगेका चौधरीलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो। लगत्तै जिल्लाको चरामा गाउँमा भब्य स्वागतसहित चौधरीलाई सम्मान गरिएको थियो। त्यहाँका आदिवासीहरुले आफ्नो मौलिक मान्द्री नाचले स्वागत गरेका थिए।
सोमबार भने चौधरीले जिल्लाको कोण्डा गाउँ, जगदलपुर, बस्तर जिल्लाको दन्तेबारलगायत बस्तीका आदिवासीहरुसँग भेटघाट गरी उनीहरुको समस्या बुझेका थिए।
उक्त भेटघाटमा उपाध्यक्ष चौधरीलाई स्थानीय आदिवासीहरुले आफूले स्वतन्त्ररुपमा पाउनुपर्ने हक अधिकार, प्राकृतिक स्रोतसाधन र राज्यले उपलब्ध गराउने सेवा सुविधाबारे भारत सरकारलाई अनुरोध गरिदिन ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझ्दै चौधरीले आफूमा थप जिम्मेवारी थपेको बताएका थिए। उनले मागहरुप्रति भारत सरकारलाई ध्यानाकर्षण गराउने पनि प्रतिबद्धता जनाए।
उनले मंगलबार सरकारी उच्च अधिकारीहरुसँघ भेटघाट गरी आदिवासी जनजातिहरुको माग र मुद्दाबारे जानकारी लिएका थिए। उनले बुधबार विश्व आदिवासी दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।
सन् २००७ मा संयुक्त राष्ट्र संघका १ सय ९३ वटा सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेका ‘संयुक्त राष्ट्र संघ आदिवासी अधिकारका लागि घोषणापत्र’लाई पूर्णरुपमा कार्यान्वयन गराउन आप्नो विशेष पहल रहने चौधरीले बताएका छन्।
घोषणा पत्रमा सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेको १० वर्ष भए पनि सदस्यराष्ट्रहरुले प्रभावकारीरुपमा कार्यान्वयन नगर्दा विश्वका आदिवासी जनजाति आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको अवस्था छ। घोषणा पत्रमा भएको ४६ धारालाई प्रभावकारी तरिकाले कार्यान्वय गराउन दबाब दिने उपाध्यक्ष चौधरीले बताए।
Facebook Comment