भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

रामनाथ कोविन्द भारतको चौधौं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धनबाट उम्मेदवार बनेका कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

गत सोमबार ४ हजार १ सय २० विधानसभा सदस्य र दुवै संसदका ७ सय ७६ जना सांसदले राष्ट्रपतिका लागि मतदान गरेका थिए। कोविन्दले खसेको मतमध्ये ६६ प्रतिशत पाएका छन्। उम्मेदवार बनेदेखि नै कोविन्दको जीत लगभग सुनिश्चितजस्तै थियो।

१९४५ अक्टोबर १ मा उत्तरप्रदेशको कानपुरमा जन्मेका कोविन्दका बुवा किसान थिए। कानपुर विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका कोविन्दले लामो समय वकालतमा बिताएका छन्।

कानपुर विश्वविद्यालयबाट स्नातक गरेपछि उनी भारतीय प्रशासन सेवामा जागिर खान दिल्ली गएका थिए। आइएएसको परीक्षामा दुई पटक फेल भएका कोविन्द तेस्रो पटकमा उर्तिण भएका थिए तर उनी प्रशासनको जागिर खान गएनन्, वकालतमा आए।

उनले भारतीय प्रधानमन्त्री मोरारजी देसाईको स्वकीय सचिवसमेत बनेर काम गरेका छन्। २०१५–२०१७ सम्म उनी भारतीय राज्य बिहारका गर्भनर थिए। उनले सन् १९९१ मा भारतीय जनता पार्टीको सदस्यता लिएका थिए। १९९८देखि २००२ सम्म उनी भाजपाको दलित मोर्चाका अध्यक्ष बनेर काम गरे।

१९९४ मा उनी उत्तरप्रदेशबाट राज्यसभामाको सदस्यमा नियुक्त भएका थिए। उनी दुई कार्यकाल राज्यसभाको सदस्य भए। उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टीकी अध्यक्ष एंव पूर्वमुख्यमन्त्री मायावतीलाई टक्कर दिन सक्ने नेताका रुपमा कोविन्दलाई लिने गरिन्छ। उनले शिक्षाका क्षेत्रमा गरेको कामको तारिफ गर्नेहरु पनि धेरै छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *