थारू गाउँमा सिकलसेलको महामारी फैलिँदै, रगत परीक्षण गर्नेको भीड

पश्चिम तराईका थारू समुदायमा सिकलसेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ । समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत संकलन गर्न थालिएको हो । जिल्ला जनस्वास्थ्यले रगत नि:शुल्क जाँच गरिरहेको छ ।

एनिमियाको लक्षण देखिएका र नदेखिएका थारू समुदायका सबैको रगत संकलन भइरहेको छ । उक्त रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सक बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् ।

उक्त रोग लागेका बिरामीको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ । रोगबारे जानकारी नहुँदा पत्ता नलागी थुप्रैले ज्यान गुमाइसकेका छन् । सरकारले एनिमियालाई महामारीका रूपमा स्वीकार गरी थारू समुदायका लागि विशेष कार्यक्रम ल्याएपछि जिल्ला जनस्वास्थ्यले गाउँमै पुगेर स्वास्थ्य जाँचसँगै रगत संकलन गर्न थालेको हो । मंगलबार बाँकेको बैजनाथ गाउँपालिका टिटिहिरियाका २ सय १० भन्दा बढीको रगत संकलन गरिएको छ । सोमबार राप्ती सोनारी गाउँपालिकाको बैजापुरका २ सय ४६ को रगत लिइएको थियो । थारू बहुल थप क्षेत्रमा एनिमिया परीक्षणका लागि रगत संकलन भइरहेको स्वास्थ्यले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय, बाँकेका निरीक्षक रामबहादुर चन्दले सिकलसेल लागेकाको समयमै पहिचान हुन सके उपचार सम्भव भएको बताए । उनले त्यसका लागि सरकारले नि:शुल्क औषधि व्यवस्था मिलाएको जानकारी दिए । ‘रोगको पहिचान हुन नसक्दा थुप्रै बिरामी उपचारबाट वञ्चित छन् । त्यसैले जाँचका लागि रगत संकलन गरिरहेका छौँ,’ उनले भने, ‘रगत जाँचपछि पोजेटिभ भेटिएकाको नि:शुल्क उपचार व्यवस्था मिलाउँछौँ ।’ रोग पहिचा भए सम्बन्धित स्वास्थ्य चौकीबाटै औषधि पाउने व्यवस्था मिलाइएको छ ।

भेरी अञ्चल अस्पतालमा हालसम्म करिब ५ सयभन्दा बढी सिकलसेलका बिरामी फेला परिसकेका छन् । तीमध्ये अझै पनि डेढ सय बिरामी अञ्चल अस्पतालको सम्पर्कमा छन् । सिकलसेलबाट पीडित बिरामी दैनिक फेला पर्न थालेपछि रगत जाँचमा बढी जोड दिइएको हो । नेपाल सरकार स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ ।

उक्त अनुसन्धानले ३ लाखभन्दा बढी थारू समुदायका व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको र समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ । सरकारले सिकलसेल एनिमिया पीडितलाई १ लाखसम्मको उपचार गर्ने घोषणा गरेको छ । त्यसका लागि परिचयपत्र जारी गरेको छ । रूपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौंदेखि एकै स्थानमा बस्दै आएका थारू समुदायमा उक्त रोगको संक्रमण देखिएको चिकित्सकले बताए । उक्त रोग पुस्तान्तरण हुँदै गएपछि महामारी मानिएको हो ।

अस्पतालमा मेसिन बिग्रियो
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन बिग्रिएको छ । सिकलसेल पुष्टि गर्ने (हिमोग्लोबिन इलेक्ट्रोफोरेसी) उपकरण सञ्चालनमा आएको केही समयमै बिग्रिएको हो । मेसिन बिग्रिएपछि रगत जाँचका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता आएको डा. राजन पाण्डेले बताए । पश्चिम तराईमा सिकलसेलको महामारी देखिन थालेपछि गत वर्षदेखि अञ्चल अस्पतालमा ल्याब टेक्निसियन इन्सपेक्टर खटाई मेसिन जडान गरिएको छ ।

ठाकुर सिंह थारु/बाँके।कान्तिपुर दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *