जानकी गाउँपालिकाका निर्वाचित अध्यक्ष प्रदीप चौधरीको प्रमुख एजेन्डा सीमांकन

लखन चौधरी/धनगढी।

कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षमा निर्वाचित प्रदीप चौधरीले आफ्नो पहिलो एजेण्डा राज्यको सीमांकनको लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्।

नवलपरासीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रलाई एक प्रदेश बनाउन आफूहरु वर्षौदेखि संघर्षरत रहेको बताउँदै उनले सो कुरा बताएका हुन्। जुनमुद्दाकै लागि आमजनताले आफ्नो अमूल्य मत दिई आफूहरुलाई विजयी गराएको अध्यक्ष चौधरी दाबी गरे।

उक्त दलबाट उपाध्यक्षसहित निर्वाचित अध्यक्ष चौधरीले समानुपातिक प्रतिनिधित्व तथा स्थानीय तहमा स्थानीय नेतृत्व हुनुपर्ने मान्यताको आधारमा अघि बढ्ने बताए। जसको लागि आफू कुनै कसर बाँकी नराख्ने उनको भनाई छ। त्यस्तै उनले गाउँपालिकामा विद्यमान शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासको लागि नयाँ योजना ल्याउने प्रतिबद्धता जनाए।

पहिलोपटक कैलालीमा आफ्नो खाता खोलेको लोकतान्त्रिक फोरमले जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जितेको छ। अध्यक्ष चौधरीले ५ हजार ५७ र उपाध्यक्ष उमा महतौले ५ हजार ९७ मत पाएकी छन्।

प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट अध्यक्षमा गंगादेवी चौधरीले ४ हजार २२१ र उपाध्यक्षमा सूर्य बटालाले ४ हजार ३० मत पाएका छन्।

फोरमले वडा नं. १,४,५ र ७ मा जित हात पारेको छ। एमालेले वडा नं. ३ र ९, माओवादी केन्द्रले वडा नं. २ र ८ तथा काँग्रेसले वडा नं. ६ मा जितेको छ । जानकी गाउँपालिकाका कुल २७ हजार ४५८ मतदाता मध्ये २० हजार ९२४ ले मतदानमा भाग लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *