थारुका छोरा, पहाडीको ज्वाईँ हुँ, मेरो जित सुनिश्चित छ : अरुण चौधरी

किसानहरु खेतीपातीमा ब्यस्त छन्, घरमा मान्छे भेटिन गाह्रो। राजनीतिकर्मीहरु प्रचारप्रसारमा ब्यस्त  मतदाताहरुसँग शिर झुकाउने, हात जोड्ने काम घरमा मात्रै होइन, खेतमा पनि गरेको देखियो । यही क्रममा कैलाली लम्की चुहा नगरपालिकाबाट नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मेयर पदका युवा उम्मेदवार अरुण चौधरीसँगको भेटमा सोधियो, ‘तपाईं त नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट उम्मेदवारी दिनु भएको छ, यसलाई त थारु मधेसीको पार्टी भन्छन्, तपाईँ जित्नु हुन्छ?’

जवाफमा उनले भने ‘म जित्छु दाजु, निश्चित जित्छु, केहिले भ्रम छर्ने प्रयास गरे, हामीले त्यसलाई चिरिसकेका छौं। नेपाल लोकतान्त्रिक फोरम अहिले थरुहट तराई तराई पार्टी, दलित जनजाति पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युनाइटेड नेपाल रिपब्लिकन पिपल्स पार्टी, शान्ति पार्टी लगायत ११ दल मिलेर बनेको छ। यो क्षेत्रीय पार्टी नभई राष्ट्रिय पार्टी बनिसकेको कुरा हामी बताइसकेका छौं। अर्को कुरा म थारुको छोरा, पहाडीको ज्वाईँ हुँ, त्यसकारण मलाई दुबै समुदायबाट उत्तिकै सहयोग छ, म दुबै समुदायलाई नजिकबाट चिन्दछु, जितेपछि दुबै समुदायलाई मिलाएर लान सक्ने योजना मसँग छ । त्यसकारणले पनि मेरो जीत सुनिश्चित छ।’

थारु–पहाडी, मधेसी–पहाडीको बीचमा अहिले तन्किरहेको विभेदको बहसले अरुण चौधरी र सरस्वती धामीलाई अझ संवेदनशील बनाइरहेको हुन्छ। उनीहरु दुबै समुदायका लागि नमूना जोडी भएर बसेका छन्। अहिलेको निर्वाचनमा उनी दुबै समुदायबाट सहयोग पाइरहेका छन्। दुबै समुदायका मानिस उनको प्रचारप्रसारमा खटिएका छन्। उनी भन्छन्, ‘मेरो ससुराली समुदाय नलागेको भए म केही भन्न सक्दैन थिएँ, तर सबैले दिलोज्यान दिएर लागेकाले मेरो जीत सुनिश्चित छ, म ढुक्क छु।’

अरुण चौधरी कैलाली लम्की चुहा नगरपालिका वडा न. ४ का बासिन्दा हुन्, उनको प्रतिस्पर्धा लम्की चुहा नगरपालिका कांग्रेस उम्मेदवार भक्त बहादुर थापा, एमाले उम्मेदवार महादेव बजगाईं, नेकपा माओवादी केन्द्रका उम्मेदवार दलबहादुर बिष्टसँग ।

अहिले हरेक दलका उम्मेदवार आफ्नो जीत सुनिश्चित रहेको बताइरहेका छन्। हराउने र जिताउने काम जनताको जिम्मामा छ, कसलाई जिताउँछन्, कसलाई हराउँछन् निर्वाचन परिणामले बताउने छ। तर पहाडमा खाएको धक्काले नेपाली कांग्रेस अहिले निकै गम्भिर देखिएको छ। तराईमा भैरहेको दोस्रो चरणको निर्वाचनमा ठूलो दलको रुपमा उपस्थिति जनाउन उसले भएभरको शक्ति लगाइरहेको छ भने पहाडमा जस्तै उपलब्धि प्राप्त गर्न, ठूला दलको रुपमा रहिरहन एमाले पनि कुनै कसर बाँकी राखेको छैन। नेकपा माओवादी केन्द्र पनि प्रायः स्थानमा प्रतिस्पर्धामा देखिएको छ।

थारु बहुल जिल्ला कैलालीमा ६ गाउँपालिका, ६ नगरपालिका र १ उपमहानगरपालिका गरी जम्मा १३ वटा स्थानित तह छन्। १३ मध्ये २ वटा गाउँपालिका (चुरे र मोहन्याल) मा थारुहरुको बसोबास छैन। बाँकी ४ गाउँपालिका, ६ नगरपालिका र १ उपमहानगरपालिकामा थारुहरुको बसोबास छ। धनगढी उपमहानगरपालिका र त्यससँगै जोडिएको गोदाबरी नगरपालिकामा थारुहरु मेयर पदमा उम्मेदवारी पाएका छैनन् भने बाँकी ५ नगरपालिका र ४ वटा गाउँपालिकामा थारुहरुको उम्मेदवारी भरमार छ। धेरैवटा स्थानीय तहमा थारु थारुबीचमा कडा प्रतिस्पर्धा छ, कसले बाजी मार्छ, थाहा छैन, तर धेरैको आँखा कैलालीमा परेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *