घोराही उपमहानगरका मेयर उम्मेदवार नरुलाल चौधरीका चुनाबी एजेन्डा

म ३०/३४ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय छु । दाङको राजनीतिक क्षेत्रका साथै यहाँको सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको छु । ०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा आबद्ध हुँदै वडा कमिटि, गाउँ कमिटि, इलाका, क्षेत्र लगायत सबै कमिटिमा बस्दै आएँ ।

०५४ सालमा भएको स्थानीय चुनावको दाङको रामपुर गाविसबाट वडा अध्यक्षमा निर्वाचित भएको थिएँ । त्यस्तो सफलतालाई यसपाली उपमहानगरको मेयर पदमा पनि दोहोर्‍याउने गरी चुनावी मैदानमा उत्रेको छु । हाल म एमालेको जिल्ला अध्यक्ष तथा अहिले रामपुर गंगा उच्च माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छु ।

पहिलो कुरा त एमालेले राष्ट्रिय स्तरमा खेलेको भूमिका नै सकारात्मक पाटो भयो । एमालेका कार्यकर्ता इमान्दार छन् र उनीहरुसँग विकास गर्ने भिजन छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । एमाले सरकारमा छँदा मनमोहन अधिकारी तथा केपी ओलीको पालामा जनताले केही पाएको अनुभूति गरेका छन् ।

स्थानीय तहमा राज्यसँग जोडिएका कुराको प्रत्यक्ष अनुभूति गर्न पाउने भएकाले अहिले मतदाताले पार्टीको साथै सक्षम, इमान्दार र निष्ठावान् व्यक्ति पनि हेर्छन् । त्यो हिसाबले हाम्रो धेरै सकारात्मक पक्ष छन् । हामीले समाजको लागि केही गरेका छौं र अब पनि गर्न सक्छौं भन्ने हामीसँग मिसन छ । घोराहीमा हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हुन्छ ।

चुनावी एजेण्डा

हावापानीको दृष्टिकोणले अत्यन्त राम्रो उपत्यका रहेको घोराही उपमहानगरमा हाम्रो पहिलो प्राथमिकता बाटोघाटो हो । उपमहानगरभित्र सैघा गाविस जस्तो विकट क्षेत्रहरु छन्, जहाँ सडक पहुँच छैन । १९ वटै वडालाई घोराही नगरसँग जोडेर बाह्रै महिना गाडी चल्न सक्ने बनाउनेछौं । ता कि  एम्बुलेन्स पुगेर बिरामी ओसार्ने सक्ने खालको बाटो होस् ।

दोस्रो, घोराहीमा सबै जनताले अझै पनि स्वच्छ खानेपानी पाइरहेका छैनन् । त्यो समस्या सम्बोधन गर्न बोरिङ गरेर पानी निकाल्ने, कुवा खनाउने र धारा सञ्चालन गर्ने लगायत कुरा गरिरहेका छौं ।

तेस्रो, कृषिलाई व्यावसायिकरण र आधुनिकीकरण गर्नुपर्छ भनिरहँदा यसका लागि सिंचाइ अत्यावश्यक चिज हो । सिंचाइ सुविधाका लागि खोलानाला व्यवस्थित गर्ने र सकेसम्म हाई ड्याम निर्माण गरेर बहुउद्देश्यीय ढंगले त्यहाँ माछापालन, पर्यटकका लागि बोटिङ गराउनुका साथै त्यहाँको पानी सिंचाइ तथा खानेपानीका लागि पनि प्रयोगमा ल्याउने सोच छ ।

अर्को कुरा, यहाँको सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । सम्भव भएका ठाउँहरुमा विद्युत् पुर्‍याउने र अन्य ठाउँमा सोलारको माध्यमबाट भए पनि जनतालाई उज्यालो दिने योजना छ ।

हामीले स्वास्थ्य क्षेत्रको विकासलाई पनि त्यत्तिकै महत्व दिएर अगाडि बढाउनेछौं । प्रत्येक वडामा ५ बेडको मिनी हस्पिटल सञ्चालन गर्ने हाम्रो अर्को सोच छ । जसबाट जनताले सामान्य उपचार वडाबाटै पाउन सकून् । त्यस्तै, घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न विशेष प्राथमिकता दिएका छौं ।

अहिले शिक्षा क्षेत्र हेर्दा सामुदायिक विद्यालयमा निकै कमजोर पढाइ हुन्छ भन्ने सबैको बुझाइ छ । त्यसको सुधारका लागि हामीले प्राविधिक शिक्षा लागू गर्ने र विषयगत शिक्षकहरुलाई अझ दक्ष बनाउने सोचेका छौं ।

पर्यटनका हिसाबले घोराहीमा धेरै सम्भावना छ । यहाँ ताल र दहहरु तथा अग्ला पहाडहरु छन् । हामीले भ्यू टावर निर्माण गरेर पर्यटकहरु आकर्षित गर्न सक्छौं । सवारीकोटबाट प्याराग्लाइडिङको परीक्षण सफल भइसकेको छ । मठमन्दिरको संरक्षण र प्रचार गरी धार्मिक पर्यटक पनि भित्र्याउन सक्छौं । पर्यटन क्षेत्रकै माध्यमबाट रोजगारी सिर्जना पनि हुन सक्ने देखेका छौं ।

बाटोघाटोको कुरा गर्दा हामीले घोराहीमा रिङरोड बनाउने कुरा गरिरहेका छौं । हापुर, नारायणपुर, ढिकपुर, धर्ना हुँदै बबई नदीपारिबाट रामपुर लगेर फेरि हापुरमा जोड्नेछौं ।

अहिले यातायातको कारणले धेरै दुर्घटना भएका छन् । दुर्घटना न्यूनीकरण गर्न वैकल्पिक बाटो जरुरी छ । बबई नदीको कुइरेपानीदेखि सर्रासम्म दामोदर रोडलाई वैकल्पिक मार्गको रुपमा विकास गर्ने हाम्रो योजना छ ।

बजारक्षेत्र रहेको उपमहानगरको सरसफाइ पनि महत्वपूर्ण छ । हाम्रो पार्टीका नेता तथा पूर्व मेयर अम्बरबहादुर डाँगीको पालामा ८६ बिगाहा क्षेत्रफलको ल्यान्डफिल्ड साइट छ, त्यसलाई अझ व्यवस्थित गर्दै वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नेछौं ।

हामीसँग यस्ता थुप्रै एजेण्डा छन् । जुन कुरा गर्दा एमालेले यति धेरै कुरा गर्‍यो, गर्न सक्छ कि सक्दैन भन्ने जनताले आशंका गरेका छन् । तर, अहिले स्थानीय तहले सबै आफैंले निर्णय गर्ने जुन अधिकार पाएको छ, यसबाट हामी आफ्ना एजेण्डाहरु पूरा गर्न सक्छौं ।

अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *