कपिलवस्तुको वाणगंगा, बुद्धभूमि र शिवराज नगरमा थारू मतदाता निर्णायक

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुका तीन नगरपालिकामा थारू मतदातालाई रिझाउने होड चलेको छ । निर्णायक हुने देखिएपछि उनीहरूलाई मनाउन उम्मेदवार लागेका छन् । दलले उनीहरू सामु आफ्ना योजना र रणनीति सुनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा थारू समुदायको उल्लेख्य बसोबास छ ।

ती नगरपालिकामा उक्त समुदायको मन जित्ने उम्मेदवार विजयी हुने अनुमान छ । वाणगंगा नगरपालिकामा कुल ४१ हजार ७ सय ३१ मध्ये १५ हजारभन्दा बढी थारू मतदाता छन् । कांग्रेसले त्यहाँ मत आकर्षित गर्न थारू समुदायका अगुवा मंगलप्रसाद थारूलाई मेयरको उम्मेदवार बनाएको छ । उनी यसअघि कांग्रेस वाणगंगा नगर समिति अध्यक्ष थिए । ‘कांग्रेसको प्रतिबद्ध मत छँदैछ,’ अर्का अगुवा रामशंकर चौधरीले भने, ‘थारू र तटस्थ रहेकाको मत पायौं भने विजय निश्चित छ ।’

पार्टीले नगरपालिकाका ५ र ७ का वडाध्यक्षमा शालिकराम थारू र ठागे थारूलाई उम्मेदवार बनाएको छ । १० नम्बर वडाध्यक्षमा रामविहानी चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमालेले उक्त समुदायको मत तान्न सभासद विश्रामप्रसाद चौधरीलाई परिचालन गरेको छ । एमालेले ३ र ६ नम्बर वडाध्यक्षमा सन्तराम रौतार थारू र सुकदेव थारूलाई र ११ नम्बर वडाध्यक्षमा शम्भुप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पनि मत तान्न मेयरमा कांग्रेस उम्मेदवार मंगलप्रसाद थारूलाई समर्थन गरेको छ । यहाँ कांग्रेस–माओवादीबीच तालमेल छ । त्यसैले उपमेयरमा माओवादीले टोपनारायण बेल्बासेलाई उम्मेदवार बनाएको छ ।

साबिकका हथौसा, कोपवा र गजेहडा गाविस थारू बहुल क्षेत्र हुन् । ‘हरेक निर्वाचनमा यहाँ थारू मतदाता निर्णायक मानिन्छन्,’ नागरिक अगुवा दोलखबहादुर पछाईले भने, ‘०४९ र ५४ को स्थानीय निर्वाचनमा मात्र नभई दुवै संविधानसभा निर्वाचनमा तिनै मतदाता निर्णायक भएको देखिन्छ ।’
त्य

स्तै बुद्धभूमि नगरपालिकामा पनि यही समुदायका मतदाता पक्षमा पार्न मुख्य तीन ठूला दल कस्सिएका छन् । कांग्रेसले मीरा थारू र एमालेले मञ्जु थारूलाई उपमेयरमा उम्मेदवार बनाएको छ । राप्रपाले विष्णुकुमार चौधरी र लोकतान्त्रिक फोरमले जलेश्वर थारूलाई मेयरका उम्मेदवार बनाएको छ । कांग्रेस र माओवादी केन्द्रले ३ वटा वडामा थारू उम्मेदवारलाई अध्यक्षमा उठाएका छन् । एमालेले वडा सदस्यमा थारूलाई बढी टिकट दिएको छ । ३ वटा दलका उम्मेदवारले थारू बस्तीको विकासलाई प्राथमिता दिने प्रतिबद्धता गरेका छन् । उनीहरूले शिक्षा र रोजगारीलाई प्राथमिकता दिने भन्दै मत मागिरहेका छन् । बुद्धभूमि नगरपालिकामा ३५ हजार मतदातामध्ये १० हजारभन्दा बढी थारू मतदाता छन् ।

शिवराज नगरपालिकामा पनि उम्मेदवारले थारू मतलाई आँखा लगाएका छन् । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र चन्द्रौटा रहेकाले नगरलाई आफ्नो हातमा पार्न तीनै दल कस्सिएका छन् । पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको समान मत रहेको नगरपालिकामा थारू मत जसलाई जान्छ उसकै जित हुने स्थानीय बताउँछन् । एमालेले २४ वर्षीय शिवकुमारी थारूलाई उपमेयरमा उठाएर थारू मत तान्ने कोसिसमा छ । राप्रपाले पनि उपमेयरमा थारू समुदायबाट सविता चौधरीलाई उम्मेदवार बनाएको छ । दुवै पार्टीले थारू युवतीलाई प्राथमिकता दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *