टीकापुर घटनाका सबै आरोपी दोषी हैनन् : पूर्वप्रधानमन्त्री दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा पक्राउ परेका सबै दोषी नरहेको बताएका छन। स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार टीकापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले घटनाका समयमा काठमाडौंमा रहेकाहरू दोषी हुन नसक्ने बताए। 

उनले टीकापुर घटनामा निर्दोष रहेकाले अनाहकमा सजायको भागेदार हुन नपरोस् भनेर आफू नेतृत्वको सरकारले झुट्टा मुद्दा फिर्ताको निर्णय गरेको स्पष्ट पारे। दाहाल नेतृत्वको सरकारले गरेको सो निर्णयको विरोध भएको थियो।

दाहाल नेतृत्वको सरकारले गरेको सो निर्णयलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गरेको छ। केही दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले टीकापुर घटनामा सम्पत्ति नोक्सानी व्यहोरेका व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराएका थिए।

दाहालले टीकापुर घटनालाई ऐतिहासिक आन्दोलन र घटनाका रुपमा अर्थ्याए। उनले थारु र पहाडी समुदायबीच झगडा गराउने षड्यन्त्र भएको बताउँदै आफ्नो पार्टी अतिवादी प्रवृित्त अन्त्यको पक्षमा रहेको दाबी गरे।

उनले थारु र पहाडी समुदाय मिलेर योगदान गरेकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउँदै यसको संस्थागत विकासका लागि समेत आगामी दिनमा मिलेरै अघि बढ्नुपर्नेमा जोड दिए। उनले मधेसले पहाडलाई र पहाडले मधेसलाई गाली गर्ने राष्ट्रवाद विकास भएको बताउँदै आफू सबैलाई एकताको सूत्रमा बाँध्ने अभियानमा लागेको दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *