बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’

एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् ।

विसं २०२७ बैशाखमा जन्मेकी सुची अहिले ४७ वर्षकी भइन् । उनको माइतीघर मोरङको डंग्राहामा पर्छ । उनले डंग्राहाकै सबैहितैषी स्कुलमा प्राथमिक शिक्षा अध्ययन गरिन् । त्यसपछि बनीगाउँमा कक्षा १० सम्म पढि्न ।

माध्यमिक शिक्षा सकेपछि घरगृहस्थीमा लाग्नुपर्‍यो । र, अहिले बालबच्चा हुर्किइसकेपछि फेरि उनी आफ्ना पितापूर्खाको बिँडो थाम्न राजनीतिमा प्रवेश गरेकी छिन् ।

सूचीको घर बिराटनगरको एयरपोर्ट नजिकै, दरबार रेष्टुरेन्टको छेउमा छ । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरी डाक्टर छिन्, उनको विवाह भइसकेको छ । कान्छी छोरीले साइन्स पढेकी छिन् । छोराले सीए पढ्दैछन् । श्रीमानको व्यापार व्यवसाय छ । कटहरीमा उनीहरुको अंकित ईंटा उद्योग छ ।

उपमेयरकी उम्मेदवार सुची लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारकी नातेदार हुन् । गच्छदार सूचीका काका ससुरा हुन् ।

सुचीका हजुरबा खरदार उमालाल चौधरी हुन् । उनका बुबा श्रीनारायण चौधरी हुन् । डंग्राहामा रहेको चौधरी परिवार २००७ सालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउँदै सुचीले अहनलाइनखबरसँग भनिन्- ‘राजनीति त मेरो खूनमै छ, हाम्रो घरमा कांग्रेस नेता वीपी, मातृका र गिरिजाप्रसाद कोइरालाको सेल्टर थियो, कोइराला परिवारसँग हाम्रो नजिकको सम्बन्ध थियो ।’

घरगृहस्थीमा लाग्नुपरेका कारण आफू यसअघि राजनीतिमा आउन नसकेको सुचीले बताइन् । तर, विगतमा विभिन्न संघसंस्थामा रहेका सामाज सेवामा सक्रिय भएको उनले बताइन् । सूचीले अब समाज सेवाबाट राजनीतिमा प्रवेश गर्न लागेको बताइन् ।

‘म समाज सेवामा सक्रिय छु । म योगाको टिचरसमेत हुँ । साई मन्दिर, लाइन्स क्लब र पतञ्जलीमा समेत आवद्ध छु। अब राजनीतिका माध्यमबाट समाज सेवा गर्न चाहन्छ्, मेरो रुची समाज सेवा गर्ने हो,’ उनले भनिन्। सुचीले उपमेयरमा आफ्नो जित निश्चित भएको बताइन्




Leave a Reply

Your email address will not be published. Required fields are marked *