थारु बाहुल जिल्ला कैलालीमा नेपाल लोकतान्त्रिक पार्टीको जनमत कति?

अविनाश चौधरी/धनगढी।

नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार घोषणा कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ। तर, निर्णय भएको छैन। मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय रहेकाले तालमेल गर्न सकिन्छ।’

यसअघि, संविधान जारी हुनु अगाडि दुवै पार्टी आन्दोलनमा थिए। संविधान जारीपछि मधेसी जन अधिकार फोरम लोकतान्त्रिक सरकारमा गएको थियो भने, संविधान संशोधन गर्नु पर्ने माग सहित थरुहट तराई पार्टीले आन्दोलन जारी राखेको थियो।

आन्दोलनरत तत्कालीन थरुहट तराई पार्टी सरकारमा पुगेका कारण स्थानीय तहको निर्वाचनमा थारु समुदायको सहभागिता बढेको छ। राजपा आबद्ध थारुबाहेक अब सबै चुनावमा होमिएका छन्। एकतापछि यो पार्टी कैलालीको केही गाउँपालिकामा बलियोसमेत बनेको छ।
२०७० को संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ र ३ मा बाजी मारेर तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले यहाँको सबालमा मुलुककै ठूलो पार्टी काङ्ग्रेससँग हैसियत बराबरी गरेको थियो।

काङ्ग्रेसले पनि कैलालीको दुई वटा क्षेत्रमा संविधान सभाको चुनाव जितेको थियो। पार्टी एकतापछि यो पार्टीले स्थानीय तहको चुनावमा केही गाउँपालिकामा प्रभाव पार्न सक्ने बताइएको छ।

यसैबीच, धनगढी उपमहानगरपालिकामा प्रमुखको उम्मेदवार प्रेम बिसीले नगरको समग्र विकास, स्वच्छ, समृद्ध नगर बनाउने प्रतिबद्धता चुनाव जित्ने आधार रहेको बताए। उनले बजारबाहेक उपमहानगर क्षेत्रको ग्रामीण क्षेत्रमा विकास हुन नसकेको उल्लेख गर्दै विकासको सुरुवात अब गाउँबाट गर्ने एजेण्डासहित चुनावी अभियानमा लाग्ने बताए।

आफू जितेमा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने, खोलानालाको अतिक्रमण हटाउने, सरकारी जग्गामा भएको अतिक्रमण हटाएर ग्रीन पार्क बनाउने, धनगढीमा सीटी बस सञ्चालन गर्ने, किसानको सुविधाका लागि शित भण्डारको स्थापना गर्ने लगायतको एजेण्डा रहेको बिसीले बताए।

उनले धनगढी आदिवासी जनजाति राना थारुको आदिम थलो रहेको कारण यहाँ नमूना राना थारु क्षेत्र बनाउने समेत प्रतिबद्धता जनाए। यो क्षेत्रको राजनीति र समुदायमा आफू चिरपरिचित रहेका कारण जनताले भोट दिएर जिताउने बिसीले विश्वास व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *