गंगासागर चौधरीको हत्या र गोलीकाण्डबारे उब्जिएका प्रश्न

कारी महतो/चितवन
भरतपुर महानगरपालिका वडा नं. २५ मा जेठ ४ गते राति भएको लुटपाट र गोलीकाण्डमा संलग्न दुई जनाविरुद्ध आज चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा मृतककी आमा सहुनी कुमारी थरुनीले जाहेरी दिएकी हुन्। घटनामा संलग्न भई अपराध गरेको आरोपमा भरतपुर नगरपालिका वडा नं. २७ का अन्दाजी ३८ वर्षीय कृष्ण परियार र रुरु नगरपालिका वडा नं. २ का अन्दाजी २० वर्षीय सितल सुनार भनिने झक बहादुर सुनारलाई जाहेरीवालाले मुद्दा दर्ता गराएकी हुन्।

जाहेरीमा लुटेराहरुले छोरा गंगासागर चौधरीलाई गोली हानी हत्या गरेको, छोरी रामकुमारी महतो र बुहारी कुन्ती महतोलगायत आफूलाई पनि मरणासन्न हुनेगरी कुटपिट गरी भागेको तथा घरमा रहेको करिब ३ लाख नगद ८-९ तोला सुनका गरगहनाहरु, ४ थान मोबाइल फोन, ५ थान घडी लुटेर लगेका व्यक्तिहरुमध्ये जाहेरीमा उल्लेखित व्यक्तिहरुको समेत संलग्नता भएको भन्ने बुझिन आएकाले उल्लेखित व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी ज्यान सम्बन्धि महल र चोरी महल बमोजिम हदैसम्म दण्ड सजाय गरी न्याय पाउँ भनी मुद्दा दायर गरिएको छ।

घटनामा लुटेराहरुको गोली लागेर ३२ वर्षीय गंगासागर महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा जेठ ९ गते मृत्यु भयो। लुटेराहरुको कुटपिटबाट गंगासागर महतोका आमा, बहिनी र श्रीमती पनि घाइते भई हालसम्म चितवन मेडिकल कलेजमा उपचारकै क्रममा छन्। तीन महिनाअघि वैदेशिक रोजगारीको क्रममा युएइको आबुधावी गएका गंगासागरका भाई इन्द्र महतो घटना भएपछि फर्केर अहिलेसम्म एकपटक पनि घर नगईकन घाइतेहरुकै स्याहारमा अस्पतालमै छन्। मृतक गंगासागर महतोको शव भने जेठ १० गते नै देवघाटमा दाहसंस्कार गरिएको छ। तर परिवारका सबैजना अस्पतालमै भएकाले उनीहरुले धार्मिक र जातीय परम्परा अनुसार काजक्रिया गर्न पाएका छैनन्।

मृतक गंगासागरकी श्रीमती गर्भवती भएको खुलासा र प्रहरीको शंका
मृतक गंगासागर महतोकी श्रीमती कुन्ती महतो गर्भवती भएको खुलासा भएको छ। जेठ ७ गते भएको अल्ट्रासाउण्ड रिपोर्टअनुसार उनी गर्भवती भएको ५ हप्ता २ दिन देखिएको छ। गंगासागर वैदेशिक रोजगारीको क्रममा युएईको आबुधाबी गएका थिए। उनी विदेशबाट वैशाख १७ गते घर फर्केका थिए। घर फर्केको १८ दिन मात्र भएको र जेठ ४ गते घटना भयो। तर श्रीमतीको गर्भ जेठ ७ गतेको जाँचअनुसार ३७ दिन गणना भएको देखियो। प्रहरीहरुले अनुसन्धानको क्रममा मृतक गंगासागर महतोकी श्रीमती कुन्ती महतोमाथि नैतिकताको प्रश्न चिन्ह खडा गरे। गर्भ कसको हो भन्ने कुरामा प्रहरीले अनेक शंका गर्यो। कसको गर्भ हो भन्नेसमेत प्रश्न गरियो। जसले गर्दा पीडित परिवार झन पीडित र अपमानित हुनु परेको छ।

प्रहरी प्रशासनले श्रीमतीमाथि शंकामात्र गरेन खुलेरै प्रश्नसमेत गरे। मृतक गंगासागर महतोको हत्या श्रीमतीकै मिलेमतोबाट भएको हो कि भन्ने शंकाको दृष्टिले प्रहरी प्रशासनले हेरेको छ। प्रहरीले कुन्ती महतोको अर्कै व्यक्तिसँग सम्बन्ध रहेको र त्यो व्यक्तिसँग मिलेर गंगासागरलाई मारेको हुनसक्ने शंकासमेत गरे। मुख्य योजनाकारकै रुपमा मृतककै श्रीमतीलाई शंकाको नजरले हेरे। जेठ २४ गते बेलुका ४ बजेदेखि ८ बजेसम्म करिब ४ घण्टा लगाएर मृतककी श्रीमती कुन्ती महतोलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ गरियो।

तर यसबारे डाक्टरहरुसँग बुझ्ने कोसिस गरे कि गरेनन प्रहरीहरुले नै जानुन्। हावादारीको भरमा मृतककी श्रीमतीलाई शंका र प्रश्न गरे। जसले गर्दा सर्वसाधारण समेतले कुन्तीको आचरणबारे गलत धारणा लिई गलत व्याख्या विश्लेषण गर्दैछन्। शंकामात्र गर्नु महाभुल हो। यसलाई निवारण समेत गर्नुपर्थ्यो।

प्रहरीको शंका र डाक्टरको जवाफ
प्रहरीले मृतक गंगासागर महतोकी श्रीमती कुन्ती महतोको गर्भबारे गहिरो शंका गरे। यसबारे डाक्टरसमक्ष जिज्ञासा राख्दा प्रहरीले अनावश्यक शंका गरेको पुष्टि हुन आउँछ। डाक्टर गौरीराम महतोका अनुसार कुनै पनि महिलाहरु महिनावारी भएको ९ दिनदेखि २१ दिनसम्म गर्भ रहन सक्छ। तर जुनदिन गर्भ रहेपनि गर्भको बच्चाको उमेर पछिल्लो महिनावारी भएकै दिनदेखि गणना गरिन्छ। त्यस हिसाबले कुन्तीको श्रीमान् वैशाख १७ गते घर आएको तर पछिल्लो महिनावारी भएको हिसाबले गर्भ रहनसक्ने सम्भावना र गणनाको हिसाब मिल्न गएकाले यसमा अनावश्यक शंका गर्नु बेवकुफीमात्र देखिन्छ।

गर्भबारे कुन्ती महतोको जवाफ
गाउँघरमा फैलिएको अफवाहबारे कुन्ती महतोले अफवाह फैलाउनेहरुलाई कडा जवाफ दिइन्, ‘मेरो गर्भको डिएनए जाँच गरेर प्रमाणित गरोस्। नत्र भने मेरो चरित्रहत्या गर्नेलाई मानहानीको मुद्दा हाल्छु।’ अहिलेसम्म कुन्ती महतोको चरित्रमाथि कसैले पनि औंला उठाउने मौका पाएका थिएन। परिवारभित्रमा पनि कुनै शंका छैन। तर बज्रपात परेकै अवस्थामा चरित्रमा खोट देखाउनेहरुको पनि मिलोमतो भएको हुन सक्ने पीडित कुन्ती महतोको शंका छ।

उनी जान्न र बुझ्न चाहन्छिन् आखिर के दुश्मनी थियो र हाम्रो परिवारमाथि आक्रमण भयो। उनी भन्छिन्, ‘म लुटेराहरुकै मुखबाट सुन्न चाहन्छु। कुन्तीले घटना भइरहेकै अवस्थामा अर्को कोठामा गई प्रहरीलाई फोन गरेको तर प्रहरीहरु दुई घण्टापछि मात्र आएको कुरामा प्रहरीबाट जवाफ सुन्न चाहन्छिन्। उनी भन्छिन्, ‘समयमै घटनास्थलमा नआउने इलाका प्रहरीहरुलाई पनि कारबाही हुन्छ कि हुँदैन? कि उनीहरु पनि लुटेरासँग मिलेका हुन्?’

प्रहरीको अनुसन्धानले पीडित परिवारलाई थप पीडा
प्रहरीहरुले परिवारभित्रैबाट घटनामा संलग्न हुन सक्ने आशंका मात्र गरेनन्। पीडित परिवारका सदस्यहरुमाथि छानबिन नै गरे। जसले गर्दा पीडितहरुको पीडामा नुन छर्किने काम भयो। मृतककी श्रीमती कुन्ती महतोको आचरणमाथि शंका गर्नुका साथै चरित्रमाथि धब्बा लगाउनसमेत प्रयास गरियो। प्रहरीले पीडित परिवारमाथि आशंका गरी उनीहरुमाथि छानबिन गरेको कुरा गाउँभरि फैलिएको छ। गर्भवती भएको कुराले प्रहरी प्रशासनले त यति ठूलो शंका गर्यो भने गाउँलेहरुले के कस्ता लाञ्छना लगाइरहेका होलान्? एक त परिवारका एक सदस्य गुमाए, जीउज्यान लगाएर कमाएका नगद र गरगहना पनि गुमाए। त्यसमाथि हत्या आरोपको छानबिन पनि आफ्नै परिवारमाथि भयो।
एक आफन्तले भने प्रहरीहरुले आफ्ना गल्तीहरु ढाकछोप गर्नका लागि देखावटी अनुसन्धान गरीरहेको आरोप समेत लगाए । घटना घटे लगत्तै फोन गर्नासाथ घटनास्थल वरपर प्रहरी पुगेको भए अपराधीहरु रंगेहात गिरफ्तार हुन सक्थ्यो। तर घटना घटेको दुई घण्टापछि मात्र प्रहरी घटनास्थलमा पुग्नु नै प्रहरीहरुको गल्ती हो। एक समाजसेवीका अनुसार प्रहरीहरुलाई चौकी जलाएर लखेट्ने धम्की दिएपछि मात्र घटनास्थल हेर्न गएको हो।

अर्का एक व्यक्तिले त प्रहरीकै मिलेमतोमा घटना भएको पनि हुनसक्छ भनेर शंका व्यक्त गरे। त्यस व्यक्तिका अनुसार प्रहरीहरुसँग नै बन्दुक हुन्छ र घटनालगत्तै बोलाउँदा पनि समयमा पुग्दैनन्। एक किमीको दूरीमा रहेका प्रहरी २ घण्टापछि मात्र पुग्छन्। कतै यो सबै उनीहरुकै मिलेमतोमा भएको त होइन? यदि होइन भने यथाशिघ्र अपराधीलाई सार्वजनिक गरेर कारबाही गरियोस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *