दुई नम्बर प्रदेशको निर्वाचन स्थगित, १, ५ र ७ मा असार १४ मै हुने

सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने भएको छ। सत्तारुढ दल र राजपाबीच बिहिबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित भएको हो।

सिंहदरबारमा केही बेरअघि सकिएको वार्तामा २ नम्बर प्रदेशको चुनाव सार्ने र बाँकी प्रदेशका लागि भोलिका लागि तोकिएको मनोनयन दर्ता तीन दिन पछि गर्ने सहमति भएको छ। ‘दुई नम्बर प्रदेशमा चुनाव सार्ने र मनोनयन तीन दिन पछि सार्ने विषयमा सहमति भएको छ’, बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्, ‘मन्त्रिपरिषद् बैठक बसेर आजै यो विषयमा निर्णय हुन्छ।’

यस्तै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले पनि आगामी असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए। दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरु छलफल गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *