कैलालीमा नेपाल लोकतान्त्रिकको टिकट वितरणमा विवाद

राम दहित/धनगढी।

नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीको सबै नगर/गाउँपालिकामा टिकट वितरणमा विवाद भएको छ। केन्द्रले एकलौटि आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ता मंगलबार पार्टी कार्यालयमा तीन घण्टा तालाबन्दी गरि धर्नामा बसेका थिए।

जिल्ला अध्यक्षसहितका पार्टी कार्यालयमा बैठक बस्दै गरेको अवस्थामा उहाँहरुलाई तीन घण्टा कोठामा थुनी धर्नामा बसेक हुन्।
भजनी नगरपालिकाका उपमेयरका आकांक्षी रामकुमारी चौधरी, घोडाघोडी नगरपालिकाका मेयरका प्रत्यासी योगेन्द्र विष्ट, धनगढी उपमहानगरपालिकाका उपमेयरका आकांक्षी शिवराज गुरुङको अगुवाईमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो।

भजनी नगरपालिकाका उपमेयरका आकांक्षी उम्मेदवार रामकुमारी चौधरी पार्टी एकलौटिरुपमा टिकट वितरण गरेको निर्णयप्रति आपत्ति जनाएकी थिइन्। पार्टीभित्र कुनै सल्लाह नगरी आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको निर्णय भएकाले आफूले टिकट नपाएसम्म संघर्ष गर्ने बताइन्।

जानकी गाउँपालिका-५ मा आफूलाई टिकट दिने केन्द्रको निर्णय भएको तर आफुलाई हटाएर अर्कोलाई टिकट दिने चलखेल भएको वडा अध्यक्षका आकांक्षी उम्मेदवार जयप्रकाश दहितले बताए। त्यसैगरी जानकी गाउँपालिकाका अध्यक्षमा रामप्रसाद चौधरी, उपाध्यक्षमा राजमति चौधरीले टिकट नपाएर विवाद भएको जनाइएको छ।

पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष गया प्रसाद कुश्मी टिकटमा भएको विवादलाई केन्द्रमा जानकारी गराएको बताए। उनले टिकट वितरणबारे अझै पूर्ण रुपमा टुङगो नभएकोले सबैलाई मिलाएर टिकट वितरण गर्ने जानकारी दिए। टिकट वितरणमा असन्तुष्ट रहेका पार्टीका कार्यकर्ताले जिल्ला अध्यक्ष बिरु चौधरी, उपाध्यक्ष गयाप्रसाद कुश्मी, सचिव कलेसु चौधरी लगायतलाई कोठामा थुनी बाहिर धर्नामा बसेक थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *