विजय गच्छदार १३औं पटक मन्त्री बने, उपप्रधानसहित स्थानीय विकास सम्हाल्ने

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन्।

पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हालेका हुन्।

पाँचौं पटक उपप्रधानमन्त्री र १३औंपटक मन्त्री बनेका गच्छदारले आज पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताए।

‘प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन कात्तिक १५ देखि मङ्सिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मङ्सिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ,’ उनले भने।

उपप्रधानमन्त्री गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर गरे। मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता ल्याउने तयारी भइरहेको जानकारी दिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *