कपिलवस्तुमा २१ वर्षीया शिवकुमारी थारु बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ । एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

उपमेयरमा जिल्लाभरकै सबैभन्दा कनिष्ठ उम्मेदवार बन्दैछिन् शिवकुमारी थारु । उनी आइतबार उम्मेदवारी घोषणासभामा परम्परागत थारु पहिरनमा उपस्थित भएर सबैको ध्यान खिच्न सफल भइन् ।

थारु, मधेसी र पहाी समुदायको मिश्रित बसोबास रहेको शिवराज नगरपालिकामा सामाजिक सद्भावक कायम गर्दै नगरको सम्बृद्धिका लागि आफू एमालेबाट उम्मेदवार बनेको शिवकुमारीले बताइन् । उम्मेदवार बन्नुअघि उनी एमालेको सामान्य कार्यकर्ता मात्र थिइन् ।

मेयरमा उम्मेदवार बनेका नेता अधिकारी २०७० सालको संविधानसभा निर्वाचनमा थोरै मतले पराजित भएका थिए । अहिले शिवराज नगरपालिकामा अन्य उम्मेदवारको भन्दा शिवकुमारीको चर्चाले उनलाई काठमाडौं महानगरको मेयरमा उठेकी रन्जु दर्शना जस्तै सेलिब्रिटी बनाइदिएको छ ।

भाषणकला र वाकपटुताका कारण स्थानीय समुदायमा स्थापित भएकी थारुलाई एमालेले जातीय सन्तुलन मिलाउन र नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्न उपमेयरमा उम्मेदवार बनाएको एमालेका जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताए ।

उम्मेदवारी घोषणासभामा थारुले भनिन्, ‘मेरो उम्मेदवारी थारु युवालाई एउटा सन्देश पनि हो । नेताले देश बिगारे भनेर विदेश पस्ने कि आफ्नो गाउँ ठाउँको परिवर्तनका लागि आफैं अग्रसर भएर राम्रा मान्छे जिताउने ? यो प्रश्नका उत्तर दिन मैले चुनाव लड्ने निर्णय गरेकी हुँ ।’

थारु समुदायपछि पर्नुमा नेतृत्व लिने अग्रसरता नदेखाउनु मुख्य कारण रहेको भन्दै अब परिवर्तन आफैंबाट शुरु गर्नुपर्ने उनले बताइन् । ‘राजनीतिको रोटी सेक्न केही व्यक्तिले मधेसी र पहाडी भनेर हामीलाई बिभाजित गरेका छन्, म बिभाजित समाज जनताको मतबाट जोड्न चाहान्छु’ शिवकुमारीले अनलाइनखबरसँग भनिन् ।
शिवराज वडा नम्बर १ निवासी शिवकुमारी उपमेयरको टिकट पाउनुअघि सरस्वती निम्न माध्यमिक विद्यालयकी शिक्षिक थिइन् । पार्टीले टिकट दिनेभएपछि घरपरिवारकै सल्लाहमा शिक्षकबाट राजिनामा दिएको उनले बताइन् ।

सानै उमेरमा विवाह भएकी शिवकुमारीका पति वैदेशिक रोजगारीमा छन् भने ३ वर्षकी छोरी बोकेरै उनी चुनावी अभियानमा निस्किएकी छन् ।

नगरपालिकाको उपमेयरको काम के हो भन्ने आफूलाई राम्रोसँग थाहा भएकाले बिभिन्न खाले हिंसा र बिभेदमा परेका मधेसी तथा थारु महिलालाई न्याय दिलाउने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताइन् ।

अनलाइनखबरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *