दाङमा थारु समुदायको मत निर्णायक, माओवादी र एमालेका थारु उम्मेदवार धेरै

स्थानीय तह निर्वाचनमा जिल्लाको आदिवासी समुदायका रुपमा रहेका थारुहरुको मत निर्णायक हुने देखिएको छ । दाङमा २९ प्रतिशत अर्थात एक लाख ६३ हजार एक सय १६ थारुहरु रहेका छन् । जिल्लामा खासगरी १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको देउखुरी क्षेत्रमा रहेका राप्ती, गढवा र लमही नगरपालिका एवं ३ र ४ नम्बर निर्वाचन क्षेत्रका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाँउपालिकामा थारुको सघन बस्ती रहेको छ ।

‘जिल्लामा थारुहरुको बलियो उपस्थिति छ ।’ नेकपा (एमाले) दाङका इञ्चार्ज मेटमणि चौधरीले भने, ‘स्थानीय तह निर्वाचनका लागि थारु समुदायको मत निर्णायक हुनेछ । थारु समुदायलाई समेटिएन भने निर्वाचन जित्न गाह्रो छ ।’ मतदाताको हकमा आधिकारीक तथ्यांक नभए पनि जनसंख्याका आधारमा तुलना गर्दा २९ प्रतिशत थारु मतदाता छन् । यस्तै, थारु अगुवाहरुले पनि स्थानीय तह निर्वाचनमा थारु समुदायलाई उपेक्षा गरेर जाने अवस्था नरहेको बताएका छन् । ‘विगतका स्थानिय निर्वाचनमा थारु समुदायलाई मत हाल्नमै सिमित गरियो । थारु बाहुल्यता हुँदा हुँदै पनि हाम्रो समुदाय ठगियो’ थारु अगूवा केबि चौधरीले भने, ‘अब त्यस्तो अवस्था छैन । थारु समुदायलाई क्रस गर्न खोजियो भने त्यो जुनसुकै दललाई पनि भारी पर्न सक्छ ।’

मत तान्न थारु उम्मेदवार

निर्वाचनमा थारु समुदायको मत तान्न जिल्लाका विभिन्न राजनीतिक दलहरुले थारु नेताहरुलाई समेट्ने प्रयास गरिहरहेका छन् । एमाले घोराही उपमहानगरपालिकाको मेयर पदका लागि एमालेले पूर्व जिल्ला अध्यक्ष नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । गढवा गाउँपालिकाको उपाध्यक्षमा शान्ती चौधरी, राजपुर गाँउपालिका उपाध्यक्षमा सीता चौधरी, दगीशरण गाउँपालिकामा अध्यक्षमा भागीराम चौधरीलाई उम्मेदवार बनाएको छ । दुई उपमहानगर र एक नगरपालिकामा गरि कुल ४७ वडामा एमालेले ७ वडा अध्यक्ष थारु समुदायबाट उठाएको छ । एमालेले दंगीशरण गाउँपालिकाको प्रमुख र गढवा गाउँपालिकाको उपप्रमुखमा एक/एक गरी दुई थारू नेताको उम्मेदवारी चयन गरेको छ ।

माओवादीबाट धेरै थारु उम्मेदवार

माओवादी केन्द्रले थारू बाहुल्य क्षेत्र रहेको घोराही उपमहानगरपालिकामा सीता चौधरी र लमही नगरपालिकाको उपप्रमुखमा कालुप्रसाद चौधरीलाई उठाएको छ । दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा श्यामेश चौधरी, बबई गाँउपालिका उपाध्यक्षमा उर्मिला चौधरी र उपाध्यक्षमा रमा चौधरीलाई चयन गरेको छ ।

दुई महानगर र एक नगरपालिकाका गरि कुल ४७ वडामा माओवादी केन्द्रले ११ उम्मेदवार थारू समुदायबाट टुंगो लगाएको हो ।‘माओवादीलाई यो स्थानसम्म ल्याउन थारु समुदायको उल्लेखनिय भूमिका छ । माओवादी नेता हेमराज शर्मा डायमण्डले भने,‘थारू बाहुल्य रहेका स्थानमा हामीले थारू समुदायबाटै उम्मेदवार तोकेका छौं । ’

जित्ने गरी कांग्रेसले थारु उम्मेदवार समेट्ने

नेपाली कांग्रेस दाङले सबै स्थानका उम्मेदवारको टुङगो नलगाएतापनि हालसम्म घोषणा गरिएका स्थानमा थारु उम्मेदवार उठाएको छैन । कांग्रेसले थारु बाहुल्य रहेका दंगीशरण र शान्तिनगर गाँउपालिकामा उम्मेदवारहरुको टुङ्गो लगाएपनि थारु समुदायलाई प्रमुख पदमा समेटेको छैन । कांग्रेस दाङका सचिव शंकर डाँगीले जिल्लाका ३ स्थानमा उम्मेदवाहरु ठोस गर्नका लागि केन्द्रमा पठाइएको भएपनि अन्य बाँकी ७ स्थानिय तहमा थारु समुदायलाई समेटने बताए । ‘प्रमुख कुरा निर्वाचन जित्ने हो । साना पार्टीले उठाउनका लागि मात्र थारुहरुलाई समेटे जस्तो गरेका हुन’ उनले भने,‘हामीले निर्वाचन जित्ने गरी बाँकी रहेका स्थानीय तहमा थारु उम्मेदवार उठाउछौँ । उम्मेदवार उठाउने भन्दा निर्वाचन जितेर थारु समुदायका मुद्धा सम्बोधन गर्नु मुख्य कुरा हो ।’ कांग्रेसले दाङमा १० भन्दा बढी वडा अध्यक्षमा थारु नेतालाई उठाएको डाँगीले जानकारी दिए ।

नयाँ पत्रिका दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *