थारु मतदाता भन्छन्- ‘अहिले खुट्टामै ढोग्छन्, जितेपछि वास्ता गर्दैनन्’

वीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका कुरा सुन्दासुन्दा आफ्नै काम चौपट्ट भयो । बेलुका भैंसीलाई के खुवाउने होला ?’

भोट माग्न सोमबार मात्र उनको घरमा दलबलसहित तीन पार्टीका उम्मेदवार आएका हुन् । ‘नमस्ते गर्दै, खुट्टामै ढोग्न पुग्छन् । त्यति गरिसकेपछि केही कुरा सुन्नैपर्‍यो,’ उनले भनिन्, ‘जितेपछि वास्तै गर्दैनन् ।’ उनले आफूकहाँ भोट माग्न आउने उम्मेदवारहरूका प्रतिबद्धतापत्र संकलन गरेर राखेकी छन् ।

‘जितेपछि पूरा गर्छन् कि गर्दैनन् हेर्नुछ,’ भनिन्, ‘पढ्न नआए पनि सुरक्षित राख्छु । के लेखेका छन् ? पढ्ने छोराछोरी छँदैछन् । जसले जित्छ उसैलाई बाचा पूरा नगरे र्‍याखर्‍याख्ती पार्छु ।’ वडा नम्बर १० का दीपक चौधरीले नेताहरूले अनेक आश्वासन बाँड्ने गरेको सुनाए । ‘पूरा गर्न नसकिने आश्वासन बाँडेको देख्दा दंग छु,’ उनले भने ।

उसो त थारू मतदाता झन्डै २० वर्षपछि स्थानीय जनप्रतिनिधि चुन्ने अवसर आएकोमा हर्षित छन् । ‘यदि जितेकाले काम नगरे पनि गाली गर्न त पाइएला,’ दीपकले भने, ‘पाएको अवसर गुमाउनुभएन । सक्षम, आफ्नो कुरा सुन्ने व्यक्तिलाई भोट हाल्नुपर्ला ।’

सोही ठाउँकी अर्की मतदाता प्यारी चौधरीले लामो समयपछि स्थानीय निर्वाचन हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । ‘उप्पर सरकारसे प्रदान करना सक्कु सुविधा आपन वडामै प्राप्त करना से,’ उनले आफ्नै भाषामा भनिन्, ‘हम्र जिताइल उम्मेदवारसे हमार पिछडल समुदायकै हित करना से ।’

प्रमुख दलहरू वीरेन्द्रनगरको दक्षिणमा अवस्थित थारू बस्तीका मतदातालाई आर्कषण गर्न केन्द्रित छन् । यहाँ वडा नम्बर ९ र १० मा थारू मतदाता निणार्यक मानिन्छन् । कुल ४ हजार २ सय ६४ मतदाता रहेको वडा नम्बर १० मा प्रमुख तीन दलले वडा सदस्य मात्र थारू समुदायकालाई बनाएका छन् । ‘थारू मतदाता निर्णायक भए पनि पार्टीहरूले वडा सदस्यमै सीमित राखे,’ अगुवा जागुरामले गुनासो पोखे ।

कांग्रेसले १० नम्बर वडाबाट दादुराम चौधरी, एमालेले सुनिता चौधरी, माओवादीले सीताराम चौधरीलाई सदस्यको उम्मेदवार बनाएका छन् । अन्य समुदायभन्दा उत्पीडित र निरक्षर बढी भएकाले उम्मेदवारहरू भोट बदर नहोस् भन्नेमा सजग छन् ।

नमुना मतपत्रसहित उम्मेदवार र दलका कार्यकर्ताहरू घरघरमा पुग्ने गरेका छन् । त्यस्तै, थारू समुदायमा आफ्नो पकड बलियो जनाउन दलहरूले मतदाताका घरघरमा झन्डा टाँग्ने होड नै चलेको छ । कांग्रेस वडा सदस्यका उम्मेदवार दादुराम चौधरीले आफूले चुनाव जितेमा सडक पिच गर्ने र बस्तीमा होमस्टे सञ्चालन गर्ने योजना सुनाए । ‘आदिवासी भए पनि पिछडिएका छौं,’ उनले भने, ‘थारू बस्तीको विकासका लागि योजनाबद्ध विकासमा ध्यान दिन्छु ।’

एमाले उम्मेदवार सुनिता चौधरीले थारू समुदायमा सचेतना र विकासको कार्यक्रम सँगसँगै लैजाने बताइन् । नयाँ गाउँको थारू बस्तीसँग जोडिएका १५ घर दलित समुदाय ऐलानी जग्गामा बसोबास गरिरहेको भन्दै उनले उक्त समुदायलाई लालपुर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *