टीकापुर घटना राजनीतिक होइन भने देउवा, ओली र दाहाललाई पनि जेल हाल : लेखी

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा लेखीले यस्तो बताएका हुन्।

टीकापुर घटना राजनीतिक घटना भएको दाबी गर्दै लेखीले राजनीतिक घटनाका आधारमा जेल जानुपर्ने भए देउवा, ओली, खनाल, नेपाल, दाहाल सबै जेल जानुपर्ने बताए। पटक पटकका राजनीतिक गतिविधिमा नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले २५ हजार नेपाली जनता मारेको भन्दै लेखीले एमालेका केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत कांग्रेसका शेरबहादुर देउवा, माओवादीका पुष्पकमल दाहाललाई पनि जेल हाल्नुपर्ने लेखीको भनाई थियो।

टीकापुर घटनामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको भन्दै लेखीले कार्यपालिकाको निर्णयलाई न्यायपालिकाले धज्जी उडाएको आरोप लगाए।

राष्ट्रिय जनता पार्टी नेपाल, लोकतन्त्र र समाजवादलाई एजेण्डा बनाएर अघि बढेको पार्टी भएको भन्दै लेखीले पार्टीलाई कमजोर नठान्न चेतावनी दिए। उनले आफ्नो पार्टी ब्यवस्थापिका संसदमा पाँचौं ठूलो दल रहेको भन्दै राजपामा भाञ्जा, भतिजा, भाइ भएकै आधारमा स्थान नदिइने बताए।

सरकारले हिजो बिराटनगर र बिरगञ्जलाई महानगरपालिका घोषणा गरेकोमा स्वागत गर्दै उनले आफूहरुले १०/२० वटा नगरपालिका र गाउँपालिका थप्न भिख नमागेको बताए।

संविधान संसोधन नगरी यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुन नदिने भन्दै उनले तराईका जिल्लामा चुनाव गरेर देखाउन सरकारलाई चुनौती दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *