थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता गर्न कार्यविधि संशोधन गरिँदै

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए। यसअघिको कार्यविधिलाई संशोधन गरी मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। 

सरकारले स्थानीय चुनावमा मारिएका दुईजनालाई सरकारले शहीद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको हो ।

नमोबुद्धमा बैशाख ३० गते राति पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या पछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । यसैगरी माओवादीसँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुईजनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

बैठकले चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने निर्णय पनि गरेको छ । गुरुयोजनामा नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवर्द्धन, बन विकास र नवीकरण ऊर्जा प्रवर्द्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरिने छ ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *