चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो। नेपाली सेनाको परामाधिपति राष्ट्रपति हुन्।

रक्षा मन्त्रालयका अनुसार अब सेना निर्वाचन सुरक्षा प्रयोजनका लागि ब्यारेक बाहिर निसक्नेछ। सेनाले निर्वाचन सुरक्षाको बाहिरी घेरा र सम्वेदनशील स्थानहरुको सुरक्षा जिम्मेवारी लिनेछ।

गृहले बनाएको सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा रहेका कार्यालयको सुरक्षा जिम्मा पनि निर्वाचन अवधिभरि सेनाले पाउनेछ। यस्तै सेनाले देशभरका निर्वाचन क्षेत्रदेखि मतदान केन्द्रसम्म बाहिरी घेरा सहित नियमित पैदल गस्ती गर्नेछ।

निर्वाचनका लागि आवश्यक सामाग्रीको हवाई ढुवानी र ओसारपसारको जिम्मेवारी पनि सेनाले पाएको छ। दोस्रो संविधानसभा निर्वाचनकै सुरक्षा योजना अनुसार विकट हिमाली जिल्लाका लागि निर्वाचन आयोगको आवश्यकता अनुसार सैन्य विमान प्रयोग हुनेछन्।

स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित निर्वाचन विरोधी गतिविधी रोक्न सेनाको विशेष फौज सक्रिय हुनेछ।
‘सेनाले बाहिरी घेरामा सुरक्षा दिने हो तर आवश्यक सूचना अनुसार अन्य सुरक्षा निकायलाई निर्देशन समेत गर्नेछ, हाम्रो आफ्नो योजना समेत हुन्छ,’ सैनिक स्रोतले भन्यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *