‘राजपा’ अर्कैले दर्ता गरेपछि एकीकृत मधेसी दलको पछाडि ‘नेपाल’ थपियो

मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् ।

राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा आयोगलाई जानकारी गराएका हुन् ।

मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता घोषणा गर्दा पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ नाम राखिएको थियो । तर, यो नाममा यसअघि नै दल दर्ता भइसकेको पाइएपछि नेपाल थपेर दल दर्ताको आवेदन दिइएको छ । चुनाव चिहृन छाता प्रस्ताव गरिएको छ ।

तर, निर्वाचन आयोगले राजपालाई तत्काल छाता चुनाव चिन्ह दिन नसकिने बताइसकेको छ । आयोगले राजपा नेपाललाई एकता प्रक्रियामा रहेको दलहरु मध्ये कुनै एकको चुनाव चिहृन लिन सक्ने विकल्प दिएको थियो ।

राजपा नेपालले भने एकतामा आवद्ध ६ दल मध्ये कुनको चुनाव चिहृन लिने पनि जानकारी गराएको छैन । साथै उम्मेदवारको मनोनयनको औपचारिकता प्रदान गर्ने पदाधिकारीको नाम, पद र हस्ताक्षरको नमुना बुझाएन । चुनाव चिहृन छनौट र पदाधिकारीको हस्ताक्षर बुझाउन आयोगले बुधबारसम्मको समय दिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *